दमौली, २७ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ ।
मंसिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोल पम्प बन्द गराएको हो ।
विगत १०–१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
पृथ्वी राजमार्गको १० मिटर छेउमै सञ्चालित पेट्रोल पम्पले गर्दा बजार व्यवस्थापन गर्ने अभियानमा असहज भएपछि पेट्रोल पम्प बन्द गराइएको उनले जानकारी दिए ।
उनले भने, ‘बजार व्यवस्थापन गर्नका लागि स्थानीयवासीले पनि उक्त पेट्रोलपम्प त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पेट्रोलपम्पकै कारण बजार क्षेत्रमा सार्वजनिक सवारी समेत अस्त व्यस्त हुने गरेको थियो ।’
सार्वजनिक जग्गाबाट पेट्रोल पम्प हटाउन यसअघि नेपाल आयल निगम, सडक डिभिजन कार्यालय तनहुँ र गाउँपालिकाले पटक–पटक आग्रह गरेको थियो । सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा गाउँपालिका रहेकाले अन्य ठाउँका अतिक्रमित संरचनासमेत क्रमशः हटाउँदै जाने थापाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केही समय अघिदेखि नै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहरा भत्काउने अभियान शुरु गरिएको जानकारी दिए । स्टोर्सका सञ्चालक राजकपुर पियाले भने बिना जानकारी गाउँपालिकाले पेट्रोल पम्प बन्द गराएको प्रतिक्रिया दिए ।










