काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको संयुक्त प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राखेका छन्। अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गौतमले फरक मत राखेका हुन्।

यद्यपि उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई 'समृद्ध बनाउन' भन्ने भाषा प्रयोग गरेका छन्। गौतमले प्रतिवेदनको शीर्षक 'पार्टी र सरकारलाई व्यवस्थापन गर्न आफ्नो विचार' राखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पुर्‍याउन बामदेव गौतमले पनि लिखित विचार प्रस्तुत गर्नुभएको छ', बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने।

ओली र प्रचण्डले बैठकमा प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदन र अन्य एजेन्डामा बैठक केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठक तीन विषयमा केन्द्रित छ।

पार्टीको सांगठनिक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने, पार्टी संचालन र पार्टीको कामको समीक्षा गर्ने तथा पार्टीको नयाँ कार्ययोजना बनाउने विषयमा अध्यक्षद्वयको प्रतिवेदनमा केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए।

ओलीले बैठक प्रारम्भ गर्दै देशको राजनीतिक परिस्थिति र बैठकको औचित्यबारे बोलेका थिए। त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदनको संक्षिप्त व्याख्या प्रस्तुत गरेका थिए।

८ वटा उपशीर्षकमा बाँडिएको अध्यक्षद्वयको प्रतिवेदनमा पार्टी एकताको महत्वको व्याख्या, सांगठनात्मक एकताको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने काम, सरकार संचालनको ९ महिनाको समीक्षा र अब जानुपर्ने दिशा, राष्ट्रिय राजनीतिक परिस्थितिको व्याख्या लगायतका विषय समेटिएका छन्। प्रतिवेदनमा राजनीतिक दलहरूको भूमिकाको चर्चा, केन्द्रीय सचिवालयका निर्णय अनुमोदनको प्रस्ताव, पार्टीको आन्तरिक जीवनको चर्चा र आगामी कार्यभार पनि समेटिएका छन्।

अध्यक्षद्वयका प्रतिवेदन र नेता गौतमको विचार अध्ययनका लागि नेताहरूलाई आइतबार एक दिन समय दिइएको छ। बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।