काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले बढी भएको ठाउँबाट कमी भएको ठाउँमा कर्मचारी पठाउने काम अध्यादेशमार्फत हुने बताए।
उनले तीनै तहमा केही समयमै कर्मचारी समायोजन गर्नेसमेत बताए। नेपालीलाई सुखी बनाउनका निम्ति जुन काम अगाडि बढाइएको छ त्यसले सफलतामा पुर्याउने बताए। साथै उनले अब हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कारबाही गरिने बताए।
‘काम नगरेर तलब पकाउने कसैले गर्नुभएको छ भने अब यो चल्दैन,’ उनले भने, ‘सरकार अब सबै ठाउँमा गइसकेको हुनाले अब केन्द्रले गरिदिएन भनेर पनि हुँदैन।’ उनले काठमाडौं महानगरपालिकालाई स्रोत साधानको अभाव नहुने पनि बताए। ‘म गर्छु र सक्छु भनेर योजनाका साथमा आउनुभयो भने काठमाडौं महानगर देशकै सबैभन्दा उत्कृष्ट महानगर हुनेछ,’ उनले भने, ‘सबैभन्दा बढी जनतालाई सेवा, विकास दिने महनगर हुने दिन आउँदैछ।’










