नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमा सदस्यले धारणा राख्ने क्रम जारी रहेको छ । पहिलो दिन आज बामदेव गौतमसहित १० जनाले आफ्नो धारणा राखेका छन् ।
बैठकको शुरुमै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलस्त मन लिएर प्रतिवेदनमाथी टिप्पणी गर्न सदस्यसँग आग्रह गर्नुभएको थियो । राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको र आज १० जनाले आ–आफ्नो भनाई राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बोल्ने सदस्यहरुले पार्टी एकीकरणपछि सात महिनासम्म पनि पार्टीका संगठनहरुको एकीकरण नहुनुलाई गम्भीर कमजोरीको रुपमा उठाएका छन् । उनीहरुले एकीकरण प्रक्रियालाई छिटो सक्नुपर्नेमा जोड दिदै एकता प्रक्रिया ढिलो हुँदा सात आठ लाख नेता कार्यकर्ता काम र जिम्मेवारी विहीन भएको तर्क गरे । जनसंगठनहरुलाई चलायनमान बनाएर अहिले भईरहेको आक्रमणको प्रतिवाद गर्नुपर्नेमा आवाज पनि उठाएका छन् ।
स्थायी कमिटी सदस्यहरुले तल्ला कमिटीहरुको निर्माण गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताएका छन् । ‘प्रणाली स्थापित गर्न सचिवालयले दैनिक काम गर्ने हो’, बैठकमा उठेका धारणाबारे नेता योगेश भट्टराईले भन्नुभयो, ‘राजनीतिक सांगठनिक निर्णय गर्न अधिकार स्थायी कमिटी, केन्द्रीय कमिटीमा नै लानु उपयुक्त हुन्छ । सचिवालयले गरेका निर्णयहरु स्थायी समितिमा अनुमोदनका लागि ल्याउनुपर्छ भन्ने कुरा उठेको छ ।’

आजको बैठकमा वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम भुसाल तथा शक्ति बस्नेतले आफ्नो धारणा राखेका राख्नु भएको छ । गजुरेलले भने आफ्नो लिखित सुझाव नै पेस गर्नुभएको छ । बैठक भोली विहान पुन आठ बजे बोलाइएको छ । जनता टाइम्स् बाट










