इलाम : इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन्। सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा आएकी छैनन्।
२० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए। विद्यालयबाट घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा दुई दिनसम्म बालिकाको खोजी नगरिएको उनले बताए। दुईदिनपछिमात्र बालिकाको खोजी सुरु गरिएको बालिकाको परिवारले बताएको छ।
बलिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिए। बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा पढ्थिन्।
रासस










