काठमाडौं । ललितपुरमा गए राति एक ट्याक्सी चालकमाथि आक्रमण गरी आँखा फुटाइएको छ । बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक सिरहाका ४२ वर्षीय डम्बर खड्कालाई यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर घाइते बनाएका हुन् । छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको हो ।

आक्रमणकारीहरु पुल्चोकस्थित सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी भन्दै शंखमुल जाने भनेर चढेका थिए । उनीहरुले बालकुमारी पुलबाट शंखमुल जानेबाटोमा ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए । आक्रमणकारीहरुले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको प्रहरी समक्ष उनले भनेका छन् । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।