नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरुले नेतृत्वले आत्मआलोचना गर्नु पर्ने माग गरेका छन् । बैठकमा एसिया प्यासिफक सम्मेलनमा सरकारी संलग्नतामाथि नेताहरुले प्रश्न प्रश्न उठाउँदै नेताहरुले यस्तो माग गरेका हुन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् । युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा गरेको सम्मेलनमा वरिष्ठ नेता नेपालले अध्यक्षता गरेका थिए । सम्मेलनमा सरकार सहआयोजकको हैसियतमा थियो र प्रधानमन्त्री ओली स्वंयम सम्मेलन अवधिभर होटलमे बसेर भेटवार्ताहरु गरेका थिए । स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि जारी छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् ।

बुधबारको बैठकमा देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् । सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायताले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो दिन नै बोलेका अग्नि सापकोटाले नेतृत्वले सार्वजनिक रुपमै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए भने मंगलबार लिखित धारणा राखेका भीम रावल युनिभर्सल पिस फाउन्डेसन, उसका गतिविधिबारे ५ पृष्ठ लामो चर्चा गर्दै नेतृत्वले सम्मेलनमा सहभागी भएर शिर निहुराएको टिप्पणी गरेका छन् ।

बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए। ‘सरकारको गतिशीलता देखिएन। मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ’, उनले भने, ‘यो सरकारले जुन तरिकाले जनतालाई सर्भ गर्नसक्नुपर्थ्यो, त्यो सकेन। सक्षमहरुलाई राखेर अक्षमहरुलाई हटाउनुपर्‍यो। मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नुपर्‍यो।’

पन्तले विधान स्थायी समितिले भनेको भन्दा विपरित आएको भन्दै आपत्ति जनाए। ‘राजनीतिक र सांगठनिक निर्णय अधिकार लियो, त्यो उसले लिन मिल्दैन। स्थायी कमिटीमा फिर्ता हुनुहुँदैन’, उनले भने।

चीनसँग भएका सन्धीहरुलाई अविलम्ब कार्यान्वयन गर्न उनले माग गरे। उनले सातै प्रदेशलाई छुने गरेर उत्तर दक्षिण राजमार्ग बनाउन प्रस्ताव समेत गरे। बैठकमा बोल्दै नेता लेखराज भट्टले सरकारले गरिरहेको कामबारे तल्ला तहमा पनि सूचना लैजानुपर्ने बताए। उनले सरकार र पार्टीको अन्तर्क्रिया नभएकोमा असन्तुष्टि जनाए। ‘सरकारको काम कारबाही हामीसम्म नै आइपुगेन, त्यसैले जनतामाझ जान पाएन। त्यसैले जनतामा निराशा पैदा भयो’, उनले भने।

टिभी अन्नपूर्ण बाट