नेपाल विद्यार्थी संघको संयोजनमा सुरु भएको ‘ह्याजट्याग मास्क मुभमेन्ट’का अभियन्ताहरुले काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई मास्क उपहार दिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउने भनिएपनि कार्यक्रममा शाक्य उपस्थित नभएपछि उनीहरुले महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाएका छन् । त्यसपछि नेविसंघका माहामन्त्री कुन्दनराज काफ्लेले उपमेयर खड्गीलाई ‘बाच्न दे सरकार’ लेखिएको मास्क लगाइदिएका थिए ।ज्ञापनपत्र बुझ्दै खड्गीले देशको समस्यामा युवाहरुको चासोले आफुलाई उर्जा थपेको बताईन् । आफुहरुबाट हुने गल्ति कमीकमजोरीमा युवाहरुले सचेत गराउँदा सँधै सहि बाटो पहिल्याउन सहज हुने उनको भनाई छ ।
काठमाडौ उपत्यकामा बढिरहेको प्रदूषण न्युनिकरणमा स्थानीय सरकार उदासिन बनेकाले सरकारलाई सचेत गराउन अभियान सुरु गरेको अभियानका संयोजक नवराज त्रिपाठीले बताए । स्थानीय सरकारले जनताले स्वच्छ वातावरणमा श्वास फेर्न पाउने अधिकार हनन् हुँदा समेत प्रदुषण न्युनिकरणका लागि ठोस कदम नचालेको संघका केन्द्रीय सदस्य समेत रहेका त्रिपाठीको आरोप छ । प्रदर्शनिमार्गबाट शुरु भएको ¥याली काठमाडौ महानगरपालीका पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदी, अभियान्ताहरु गोपी सिवाकोटी,जानुका पन्त, हरि आचार्य, अमृत ज्ञवाली, मनिष सिम्खडा रञ्जनहरी काफ्लेलगायत विभिन्न क्याम्पसबाट आएका सयौं विद्यार्थी मास्क लगाएर उपस्थित भएका थिए । अभियान्ताहरुले उपमेयर खड्गीलाई मास्क लगाएर ज्ञापनपत्र बुझाएका थिए ।










