काठमाण्डु, ६ पुस – लामो रस्साकस्सीपछि शुक्रबार बिहान शीर्ष नेताहरुबीच सातजना सहमहामन्त्री बनाउने सहमति भएको केही घण्टा नबित्दै कांग्रेसको सहमती उल्टिएको छ । काँग्रेसले आठजना सहमहामन्त्री बनाउने प्रस्ताव गरेसँगै कांग्रेसको सहमती उल्टिएको हाे ।
आज अपरान्ह पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमहामन्त्री आठ बनाउने सहमति भएको जानकारी दिए । उनले केन्द्रीय समितिको संख्या पनि बढ्नसक्ने बताए । त्यसका लागि शीर्ष नेताहरु छलफलमै रहेको उनले जानकारी दिए ।
नेताहरुबीच भएको सहमति अनुसार १ सभापति, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ८ र कोषाध्यक्ष तथा प्रवक्ता एक–एक जना हुने भएका छन् । कोषाध्यक्ष र प्रवक्ता केन्द्रीय समितिबाट निर्वाचित भएका मध्येबाट मनोनित गर्ने काँग्रेसले जनाएको छ । बाँकी सबै पदाधिकारी निर्वाचित हुनेछन् ।
पदाधिकारीमा शीर्ष नेताहरुबीच भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमिति बैठकमा पेश गर्ने तयारी भइरहेको बताइएको छ । नयाँ पदाधिकारीको व्यवस्थाससिहतको संशोधित परिमार्जित कांग्रेसको विधान मस्यौदा शनिबार बस्ने महासमिति बैठकमा पेश गरिने कांग्रेस प्रवक्ता शर्माले बताएका छन् ।










