सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा आए लगतै छाउनीको जग्गा माग गदै पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सर्वोच्च अदालत पुगेकी छन् ।
छाउनीमा रहेको १५ रोपनी जग्गा र घरसहित २०७३ माघ २१ गते नेपाल ट्रष्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो । उक्त मुद्दामा तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्र समशेर राणाको इजलासले प्रेरणाले दाइजो पाएको भन्दै उनैको हक स्थापित हुने फैसला गरिदिएका थिए । तत्कालीन न्यायाधीश चोलेन्द्र समशेर जबरा अहिले सर्वोच्चको प्रधानन्यायाधीश भएपछि शाह पूरानो मुद्दा लिएर फेरि सर्वोच्च पुगेकी हुन् । छाउनीमा रहेको जग्गा माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाह आज सर्वोच्च अदालत पुगेकी हुन् । उनले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा आज (शुक्रबार) निवेदन दर्ता गराएकी छन् । तत्कालीन समयमा राजा वीरेन्द्रको नाममा रहेको उक्त जग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए । तर, सर्वोच्चको फैसलामा चित्त नबुझाएको नेपाल ट्रष्टले सो मुद्दालाई सर्वोच्चमै पुनरावलोकनको लागि आग्रह गरेको थियो । भूमिसुधार मन्त्रालय र नेपाल ट्रष्टले पुनरावलोकनको माग गरेपछि सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिने आदेश दियो । पुनरावलोकनका क्रममा भएको बहसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरू दीपककुमार कार्की तथा सपना प्रधान मल्लको पूर्ण इजलासले पूर्ववत् फैसला उल्ट्याई नेपाल सरकारकै नाममा जाने गरी फैसला गरेको थियो । नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाले उक्त जग्गा ३५ दिनभित्र घरजग्गा खाली गर्न गत वैशाख २५ मा प्रेरणालाई पत्र समेत लेखेको थियो ।
के हो जग्गा काण्ड ? राजदरबार हत्याकाण्डपछि राजाका रूपमा गद्दी सम्हालेका ज्ञानेन्द्र शाहले वीरेन्द्रको नाममा रहेको अधिकांश सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा गराएका थिए । त्यसैमध्येको एक होे छाउनीको १५ रोपनी १ आना जग्गा । तत्कालीन समयमा वीरेन्द्रको नाममा रहेको उक्त जग्ग ज्ञानेन्द्रले दाइजोको रुपमा नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए ।
तर जब पूर्वराजा वीरेन्द्रको सम्पत्तिलाई ट्रष्ट मातहत ल्याउने भन्दै निर्णय भयो र नेपाल ट्रष्टको स्थापना भयो । ट्रष्टले राजा वीरेन्द्रको जग्गा खोज्ने क्रममा छाउनीको यो जग्गा फेला पारेको थियो । तर, उक्त जग्गा फेला पर्दासम्म छाउनीको जग्गा वीरेन्द्रबाट प्रेरणा राज्यलक्ष्मी शाहको नाममा पुगिसकेको थियो । नेपाल ट्रष्टले उक्त जग्गा सरकारी सम्पत्तिको रूपमा आउनुपर्ने भन्दै सर्वोच्च अदालतमा नेपाल ट्रष्टले मुद्दा दायर गरेको हो ।










