बेलायत संसारको अति विकसित मुलुकमा पर्दछ । योे देशमा वर्षेनी ६ सय जना घरवारबिहीनहरुको चिसो, ड्रग्स, आत्महत्याको कारणले मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, एक रिपोर्ट अनुसार ५ बर्षको अवधीमा इंगल्याण्ड र वेल्समा मात्रै २६२७ बेलायती घरबारबिहीनहरुको असमयमै मृत्यु भएको छ ।

यही कुरालाई मध्यनजर गर्दै बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहीनहरुको लागि खाना र न्यानो कपडा व्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेका छन् । आयोजक बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आफ्नो व्यवसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकमले क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर संस्था मार्फत असहाय घरबारबिहीनहरुलाई अत्यावश्यक वस्तुको व्यवस्था गर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य भएको उल्लेख गर्दै नेपाली हृदयको सम्मान गर्ने बताए । रकम संकलनको लागि लिलाम बढाबढ गर्न आफ्ना नातिनीले आफूलाई दिएको उपहार प्रदान गरेको उनले बताए ।

त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको कार्यक्रमले प्रमाणित गरेको टिप्पणी गरे । नेपाली डिनरसहित नेपाली परम्परागत सारंगीबाट शुरु भएको कार्यक्रममा सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बिक, बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

बेलायतमा व्यवसाय गरिरहेका शिवजी श्रेष्ठ नेपालको लागि विभिन्न च्यारिटीमा संलग्न भइरहन्छन् । ‘आफ्नो देशको लागि गर्ने कुरा त छदैछ, तर आफू बसेको देशको लागि पनि केहि गर्नु आफ्नो कर्तव्य हो’, उनी भन्छन्, ‘संसारमा जहाँका मानिस चिसोले मरेपनि अहिलेको आधुनिक विश्वलाई चिमोट्ने कुरा हो, जे होस् यसले एउटा सनदेश भने दिएको छ ।’