अनु आचार्य रसुवा । अवैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको तिप्लिङ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ रहेका छन् ।
स्याफ्रुबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ८२ प ५११४ भिआर मोटरसाईकलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियमित चेकजाँचको क्रममा सोमबार दिउँसो २ बजे जिल्लाको कालिका गाउँपालिका स्थित कटुञ्जेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । पैतालामा कागजले बेरेर जुत्ता भित्र लुकाएको अवस्थामा ३ सय ७८ ग्राम सुन सहित उनलाई पक्राउ गरिएको उनले बताए । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान बिभागमा बुझाउने तयारी भईरहेको समेत तामाङले बताए ।
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै सुन तस्करी बढ्दै गएको छ । तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकावाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरेपनि दैनिक जसो नै रसुवाबाट अबैध सुनको तस्करी भईरहेको बताइदै पनि आईरहेको छ । नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भईरहेको रसुवागढी नाकामा अबैध रुपमा तस्करी बढेसँगै प्रहरीले बिशेष निगरानी गरिरहेको जनाएको छ ।
भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट २०७१ सालदेखि नै सुन तस्करीको घटना सुरु भएको देखिन्छ ।










