बाँके, १० पुस । कुखुराको खुट्टा भाँचेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ पक्राउ गरेको छ । उनी चार दिनदेखि बाँके जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

२४ मंसिरमा ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचेको आरोप लगाउँदै उनका छिमेकी मोहम्मद रफिकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले चार दिन अघि उनलाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेका अकबाल र मोहम्मदबीच प्रहरी कार्यालयमा प्रहरीले पटकपटक छलफल गराएको थियो । दुवैलाई मेलमिलाप गर्न लगाएको थियो ।

मोहम्मदलाई कुखुराको पैसा लिन सुझाएको थियो भने अकबाललाई कुखुराको पैसा तिरेर कुखुरा लैजान प्रहरीले सल्लाह दिएको थियो । तर, दुवैले त्यसमा सहमति नजानएपछि विवाद यथावत रहेको प्रहरीले जनाएको छ ।

जति गर्दा पनि दुवै जना नमिलेपछि अकबाललाई थुन्नु परेको छलफलमा सहभागि प्रहरीले बताए । ‘जति गर्दा पनि दुवैले मानेका छैनन, त्यसैले अकबाललाई हिरासतमै राखिएको छ,’ एक प्रहरी अधिकृतले भने ।

तर, बाँके जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलले भने त्यस विषयमा नसमातिएको जिकिर गरे । उनले अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रतिक्रिया दिए ।

अकबाल प्रहरी हिरासतमै छन । उजुरी दिने मोहम्मदले पनि सहमित गर्न चासो दिएका छैनन् ।