भारत–नेपाल सीमा पानीट्याङ्कीबाट सशस्त्र सीमा बल (एसएसबी)ले दुई नेपाली नागरिक पक्राउ गरेको छ।
एसएसबीको ४१ औं बटालियनका जवानहरूले सोमवार अपरान्ह ४ बजे यी दुई नेपाली नागरिकलाई पक्राउ गरेका हुन्। उनीहरूबाट ठूलो परिमाणमा नेपाली मुद्रा पनि बरामद गरिएको छ।
मङ्गलवार एसएसबीको ४१औं बटालियनका कमाण्डेण्ट राजीव राणाले जानकारी गराएअनुसार ठूलो परिमाणमा नेपाली मुद्रा बोकेर भारत छिरेका नेपाली नागरिकलाई सीमामा नियमित चेक जाँचका क्रममा एसएसबीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विमल खड्का (२० वर्ष) र सुमन रेग्मी (२३वर्ष) रहेका छन्। विमल रुकुमका हुन् भने सुमन झापाका हुन्।
पक्राउ परेका यी दुई युवकबाट पाँच लाख २७ हजार नेपाली मुद्रा बरामद गरिएको कमाण्डेण्ट राणाले नेपालखबरलाई जानकारी दिए।
एसएसबीले पक्राउ गरेपछि दुवै युवकलाई खोरीबारी प्रहरीलाई सुम्पेको छ। नेपाली मुद्रा बोकेर यी दुई युवक किन भारत छिरेका हुन् भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
खोरीबारी प्रहरी चौकीका अधिकारी भूषण छेत्रीका अनुसार खोरीबारी प्रहरीले नेपाल प्रहरीसँग सम्पर्क राखेको छ। बरामद गरिएको नेपाली मुद्रा असली हो या नक्कली पत्तो लगाउन चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ। नेपाल खबर बाट










