काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी किर्ते गरी एउटाको जग्गा अर्काको नाममा पास गरेको भन्दै मालपोत कार्यालय डिल्लीबजार र झापाको दमकका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
टेकमाया आङहाङ (मावोहाङ)को नाममा झापाको दमक नगरपालिका–४ स्थित ४८७३ र ४८७५ कित्ता नम्बरको ०–१५–१२ र १–४–१२.७५ क्षेत्रफलको नक्कली जग्गाधनी खडा गरी पास गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ नक्कली जग्गाधनी खडा गरेर अनियमितता भएको अख्तियारको छानबिनबाट फेला परेको छ ।
मालपोत कार्यालय डिल्लीबजारबाट ३१ फागुन २०६९ मा बेजिल्ले रजिष्ट्रेसनको खिखत पारित गराइ लामो समयपद्धि मालपोत कार्यालय दमकबाट जग्गा दाखिला खारिज गराउने कार्य गरी फौदराज लिम्बुले आफ्नो नाममा जग्गा पास गराएका थिए ।
अख्तियारले उक्त प्रकरणमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशव प्रसाद नेउपाने तथा राजेन्द्र प्रसाद फुयाँल, नायव सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यस्तै मालपोत कार्यालय दमक, झापाका मालपोत अधिकृत अग्नी घिमिरे, नायव सुब्बा डिल्लीराम कोइराला तथा जयन्द्रराज खड्काविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले जग्गा आफ्नो नाममा कायम गर्ने फौदराज लिम्बुविरुद्ध १ करोड २० लाख बिगो मागदावी गर्दै भ्रष्टाचा मुद्दा दायर गरेको छ । यस्तै अधिवक्ता चन्द्र प्रसाद खनालविरुद्ध पनि १ करोड २० लाख रुपैयाँ बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । लोकान्तर बाट










