परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् । जापानका विदेश मन्त्री कोनेले पुस २५ देखि २६ गतेसम्म नेपालको भ्रमण गर्ने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भनेको छ, ‘परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेश मन्त्री तारो कोनोले २०७५ पुस २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने र दुवै नेताले संयुक्तरुपमा प्रेसलाई सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले जापानी विदेशमन्त्रीको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना हुनेछ ।

कोनोको भ्रमणको क्रममा नेपाली कामदारलाई जापान लैजाने बिषयमा कुराकानी पनि हुने भएको छ । गत मङ्लवार विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्राउने नीति जापानको मन्त्रिपरिषद्ले पारित गरेको छ । यो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको छ । जापानले नेपालसँगै चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलिया आदि देशबाट कामदार लैजाने भनेको छ ।

आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो नीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेछन् ।

नेपालको श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार एक महिनाभित्र नेपाल आउने बताइएको जापानी प्राविधिक टोलीसँग वार्ता भएपछि यसको विस्तृत प्रारूप तयार पारिनेछ ।