नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौकीदारका कारण केही चोरहरुको निन्द्रा उडेको बताएका छन्। उनले दिनरात एक गरिदिएपछि केही चोरहरुको निन्द्रा हराएको बताएका हुन्।

आफु विजयी भएको वाराणसी संसदीय क्षेत्रको दौडमा रहेका मोदीले भने, ‘तपाईहरुको चौकीदारले काम गरेर दिनरात एक गरिदियो। चौकीदारकै कारण केही चोरको निन्द्रा उड्यो, केही दिनमा यी चोरको सही ठाउँमा पुर्याउँछौँ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिन्दी बेल्टका ५ राज्यमा भएको हारपछि भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक आफु निर्वाचित संसदीय क्षेत्रमा पुगेका हुन्। वाराणसीभन्दा पहिले प्रधानमन्त्री मोदीले गाजीपुरको यात्रा गरी महाराजा सुहेलदेवको तस्बिर अंकित हुलाक टिकट जारी गरेका छन्।

मोदीले लाखौँ किसानको ऋणमाफी गर्ने कांग्रेसको घोषणामाथि पनि हमला गरेका छन्। कर्नाटकमा कांग्रेसले ऋणमाफीको कुरा गरेर भोट बटुलेको आरोप लगाए।

‘यो खेल हो, धोका हो, किसानको फाइलमा कांग्रेस बसेको थियो, कांग्रेसले किसानलाई बर्बाद गर्यो र उनीहरुलाई कर्जदार बनायो,’ उनले भने, ‘कांग्रेसले स्वामीनाथन आयोगको सिफारिस लागू गरेन, हाम्रो सरकारले लागू गर्यो,’ मोदीले भने।