डडेल्धुरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याई कानुन कार्यान्वयन गर्न प्रहरी कर्मचारी कुनै पनि हालतमा चुक्न नहुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको शुक्रबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक खनालले मानवअधिकारको संरक्षण एवं सम्बर्द्धन गर्दै महिला बालबालिका एवं जेष्ठ नागरिकप्रति विशेष सम्मानसहित सेवा प्रवाह गर्न तथा महिला हिंसाका घटनाहरूमा बिशेष ध्यानपुर्वक अनुसन्धान गरी अपराधिलाई कारवाहीको दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवसायिक पेशाप्रति ईमान्दार, वफादार एवं असल आचरणमा रही आमनागरिकसँग सुमधुर सम्बन्ध राखी काम गर्न प्रहरी महानिरीक्षक खनालले आग्रह गरे ।
समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न र अपराध अनुसन्धान एवं नियन्त्रण गर्न पछि नहटन सम्पुर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोवलका साथ कार्य सम्पादन गर्नुपर्ने उनले बताए ।
सो क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कार्यालय भवन, अभिलेख, प्रहरी कर्मचारी टर्नआउट लगायतको निरीक्षण एवं अवलोकन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।










