नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिन गएका प्रहरी अधिकारीमाथि स्थानीय प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मोदी शनिबार उत्तरप्रदेशको गाजीपुरमा एक सभालाई सम्बोधन गर्न गएका थिए । गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश वत्स प्रधानमन्त्रीको सभामा सुरक्षा दिएर शनिबार बेलुका फर्किदै थिए ।
स्थानीय निषाद समुदायका केही व्यक्तिहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेकोमा उनीहरुले ढुंगा प्रहार गर्दा वत्सलाई चोट लागेको थियो । घटनामा अन्य दुई जना प्रहरीपनि सख्त घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
निषाद समुदायले आरक्षणको माग गर्दै प्रधानमन्त्री आएको बेलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि प्रहरीहरु जाम खुलाउने प्रयासमा रहेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । (बीबीसी)










