नेबि संघ झापाको १२ औँ अधिवेशनमा भएको निर्वाचनबाट सभापतिमा राजेन्द्र उप्रेती निर्वाचित भए पनि अर्का प्रत्यासी भुवन बुढाथोकी नेतृत्वको समूहले असन्तुष्टि व्यक्त गर्दै सामान्तर अर्को समिति गठन गरेका छन् ।
संघको पुस १२ गते भएको निर्वाचनमा उप्रेतीका ४५२ मतका साथ विजयी भएको र बुढाथोकीले ६४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । उहाँका अनुसार संघको सचिवमा नारायण नेपाल ४२७ मत र कोषाध्यक्षमा नवराज ढकाल ४०२ मतका साथ विजयी भएका छन् ।
सचिव पदमा उम्मेद्वारी दिएका विनोद चापागाईंले ७४ मत र कमल दाहालले १८ मत पाएका थिए भने कोषाध्यक्षका अर्का उम्मेद्वार सुनिता सिटौलाले ११७ पाएको निर्वाचन समितिले जनाएको छ । संघको २५ सदस्यीय समितिका लागि निर्वाचनबाट २२ जना निर्वाचित भइसकेका छन् ।
यता, निर्वाचनप्रति असन्तुष्टि जनाउँदै बुढाथोकीले आफूहरु वास्तविक विद्यार्थी भएको र नेविसंघलाई अघि बढाउन समिति गठन गरेको बताए।
बुढाथोकी सभापति भएको समितिमा निरोज दुलाल उपसभापति, विनोद चापागाईं सचिव, प्रकाश खड्का सहसचिव, सिर्जना भण्डारी कोषाध्यक्ष रहेका छन् ।
यता, नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाले निर्वाचनबाट आएको समिति नै वैधानिक हुने बताए । ‘नेविसंघको केन्द्रीय समितिले पठाएको प्रतिनिधि लगायत सरोकारवाला सबैको सहभागितामा निर्वाचन भएको हो’, रासससँग उनले भने, ‘केन्द्रले पनि यसलाई मान्यता दिइसकेको छ ।’
नेविसंघ झापा समिति गठनमा सहमतिको प्रयास गरिए पनि सम्भव नभएपछि निर्वाचन गरिएको उनले बताए। ‘सहमति नभएपछि विधि र प्रक्रिया पूरा गरेर आएको समिति नै वैधानिक हुन्छ’, उनले भने, ‘असन्तुष्ट पक्षसँग छलफल गर्छौैं, मान्दैनौँ भन्दै विधि र प्रक्रिया विपरीत जानेलाई आचारसहिता र अनुशासनको कारबाही हुन्छ ।’ रासस










