काठमाडौं– सरकारले आगामी ७० दिन भित्र आफ्नै रेल नेपाल आइपुग्ने जानकारी गराएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतवार मन्त्रालयको पहिलो चार महिनाको प्रगति सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

भारतबाट रेल खरिद गर्न लागिएको भन्दै मन्त्री महासेठले त्यसका लागि भारतले रेल खरिद गर्ने लागत समेत पठाइसकेको बताए ।

उनका अनुसार भारतबाट खरिद गरिने एउटा ट्रेन सेटको मुल्य ५० करोड रुपैयाँ रहेको छ । ‘भारतबाट रेल खरिद गर्न लागेका छौं,’ उनले भने, ‘१० जनवरीमा सम्झौता गर्ने छौं र त्यसको दुई महिना भित्रै रेल आइपुग्ने छ । नेपाल सरकारको आफुनै लोगो भएको रेल सञ्चालनमा आउने छ ।’

रेल भाडामा लिने वा आफैंले खरिद गर्ने भन्दै लामो छलफल पछि खरिद गर्ने निर्णयमा आफुहरु पुगेको मन्त्री महासेठले बताए ।

भाडामा लिनु भन्दा आफैंले खरिद गरेर फाइदा हुने देखिएकाले आफ्नै रेल खरिद गर्न लागिएको महासेठको भनाइ थियो ।

यसअघि यहि डिसेम्बर भित्रै रेल सञ्चालनमा ल्याइने बताए पनि भाडामा सञ्चालन गर्ने वा आफैं खरिद गरेर सञ्चालन गर्ने भन्ने विषयमा छलफल लम्बिँदा रेल सञ्चालन गर्ने प्रक्रिया केही ढिला हुन गएको मन्त्री महासेठको स्वीकारोक्ति थियो ।

मन्त्री महासेठले काठमाडौं उपत्यकामा रहेको अस्तव्यस्ततामा समेत सुधार आइसकेको दावी गरे ।