बिनु पोखरेल
काठमाडौं, २७ माघ–विषादियुक्त खानपान, धेरै समय तातोमा बसेर काम गर्नु पर्ने, काम वा अन्य कुराको प्रेसर आदिले पछिल्लो समयमा पुरुषहरुमा शुक्रकीटको मात्रा कम हुँदै गएको विश्व स्वाथ्य संगठनको डाटाले देखाएको छ । नेपाल जस्तो देशका पुरुषहरु यी तिनै वटा कारणको उच्च प्रभावित छन् ।
एक चिनियाँ सञ्चार माध्यमले जनाए अनुसार चीनमा यो समस्या पहिल्यै देखि थियो । त्यसै कारण त्यहाँका शुक्रकीट बैकहरुमा शुक्रकीट बेचेर कलेज पढ्ने बिद्यार्थीले २४ हजार डलरसम्म कमाउने गरेको उल्लेख गरेको थियो । तर नेपालमा त्यसरी शुक्रकीटको ब्यापार नै नभए पनि शुक्रकीट बैंकहरु भने सञ्चालनमा आएका छन् ।
यस्ता बैंकहरुमा तीन देखि छ महिनासम्म शुक्रकीट राख्न सकिने बताउँछिन् बानेश्वर निशन्तान केन्द्रकी सञ्चालिका डा.उमा श्रीवास्तव । उनका अनुसार नेपालमा मात्र होइन जुन जुन देशमा यसरी निशन्तान केन्द्रहरु संचालनमा छन् त्यहाँ हरेक अस्पतालले शुक्रकीट स्टोर गरेको हुन्छ । ‘नेपालमा पैसा तिरेरै शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहियो भने डक्टरहरुकै नजिक हुनुभएकोहरु बाट लिल्छौं’ डा. श्रीवास्तवले भनिन्, ‘शुक्रकीट लिन उसको रगत देखि सबै कुरा जाँचेर लिन योग्य छ भने मात्र लिने गरेका छौं ।’

उनका अनुसार त्यसरी लिएको शुक्रकीट पनि कति योग्य छ त्यो जाँच गराउनु पर्छ । ‘पाँच एमएल शुक्रकीट लिंदा बल्ल तीन चारवटा कीट क्षमतावान भेटिन्छ । तिनीहरुलाई छानेर बल्ल शुक्रकीट बैंकमा राख्ने हो’ उनले भनिन्, ‘यसरी लिइएको शुक्रकीट कसैकसैको मात्र स्ट्रोङ हुन्छ । कसैको तीन महिना पनि नपुग्दै त्यसले काम नगर्ने पनि हुन्छ ।’
श्रीमानका कारण वच्चा नभए पनि अहिले समाजमा त्यसको सजाय श्रीमतीले पाउने गरेका घटना उनले सुनाइन् । ‘वच्चा नहुने श्रीमानहरु चेक गराउन आउँदैनन् तर बच्चा भएन भनेर तेस्री श्रीमती सम्म भित्र्याउँछन्’ उनले भनिन्, ‘श्रीमान आएपछि बल्ल थाहा हुन्छ, उसैका कारण बच्चा नभएको हो ।’
श्रीवास्तवका अनुसार श्रीमान देशबाहिर जाँदा पनि उनैको शुक्रकीट स्टोर गरेर श्रीमतीले चाहेका बेला गर्भाधान गराउने प्रविधि पनि आएको छ । उनी भन्छिन् – ‘कसैको श्रीमान बिदेश जादै हुनुहुन्छ र श्रीमतीले केही समयपछि म उहाँकै शुक्रकीट राखेर बच्चा पाउँछु भने पनि हामी उहाँको शुक्रकीट ६ महिनासम्म स्टोर गरिदिन सक्छौं ।’
बच्चा जन्माउन चाहने महिलाका माग अनुसारको शुक्रकीट खोज्ने गरेको पनि उनले वताइन् । ‘भर्खरैको कुरा हो, एकजना लिम्बु थरका भाइले युकेबाट फोन गरेर मेरी श्रीमतीको लागि शुक्रकीट चाहियो भन्नु भयो । उहाँले लिम्बुकै शुक्रकीट चाहिने वताउनु भयो’ डा. श्रीवास्तवले घटना सुनाइन्, ‘हामी डिमाण्ड अनुसार शुक्रकीट खोजेर गर्भाधान गराउँछौं ।’ २० बर्ष देखि संचालनमा रहेको यस केन्द्रले चार हजार परिवारलाई बच्चाको अभाव पूरा गराएको छ ।



