काठमाडौं, १६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ जना नेताहरुलाई पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएका छन् ।

अध्यक्षद्वयले पार्टीको सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदलका नेताहरुलाई बालुवाटारमा बोलाएको नेताहरुले जानकारी दिएका छन् । कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

कार्यदलको संयोजक तोकिएको छैन । अध्यक्षहरुले संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको समाचार स्रोतले जानकारी दिएको छ । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने कार्यदलका सदस्य बेदुराम भुसालले बताएका छन् ।

केन्द्रीय निकायदेखि लिएर स्थानीय तहका कमिटीहरु, जनसंगठनहरुको एकतालगायत यसअघि केन्द्रीय सचिवालयले गरेका र विधिसम्मत नभएका भनिएका निर्णयको समेत अध्ययन गर्ने जनाइएको छ । विधानमा बाझिएका विषयमा पनि कार्यदलले प्रस्ताव तयार गर्ने भुसालले जानकारी दिएका छन् ।

भुसालले भने, ‘यो कार्यदलले पहिलो काम त तलका कमिटी र जनसंगठनहरुको एकताको प्रस्ताव तयार गर्छ गर्नेछ । दोस्रो काम भनेको पोलिटव्यूरो गठनदेखि केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका कामहरुको पनि प्रस्ताव तयार पार्नेछ । सँगसँगै विधानकै बारेमा पनि राय दिनेछ ।’