काठमाडौं, पुष १७ । स्नातकोत्तर तहमा प्रथम श्रेणी (फर्स्ट डिभिजन) मा पास भएका व्यक्तिले शिक्षण पेसामा पहिलो प्रथामिकता पाउने भएका छन् । जुनसुकै संकायमा अध्ययन गरेको भएपनि स्नातकोत्तर तह प्रथम श्रेणीमा पास भएका व्यक्तिले शिक्षक अनुमति (लाइसेन्स) परीक्षा नदिइ माध्यमिक तहको शिक्षक बन्न पाउने व्यवस्था गरिँदै छ ।
सामुदायीक विद्यालय शिक्षामा लगानी गरे अनुरुप प्रतिफल आउन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याउनेलाई सहज रुपमा शिक्षक बन्न पाउने अवसर दिन लागेको हो ।
शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई सुझाव दिन बनेको उच्चस्तरीय शिक्षा आयोगले प्रथम श्रेणीमा पास भएकालाई शिक्षण पेसामा आकर्षित गराउन नयाँ व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ ।
शिक्षकको तलब कर्मचारीको भन्दा १० प्रतिशत बढी
शिक्षण पेसा प्राविधिक पेसा भएकाले शिक्षकहरुको तलब र सुविधा प्राविधिकको जस्तै हुनुपर्ने आयोगको ठहर छ । आयोगले शिक्षकको तलब सुविधा सरकारी कर्मचारीको भन्दा १० प्रतिशत बढाउने व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ ।
कर्मचारीको भन्दा १० प्रतिशत तलब वृद्धि गरेमा उच्च अंक ल्याउनेहरु शिक्षण पेसामा आकर्षित हुने आयोगको विश्वास छ । शिक्षा क्षेत्रको अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव दिन बनेको समितिले उक्त व्यवस्थासहितको प्रतिवेदन सरकारलाई पुस २२ गतेभित्र बुझाउने तयारी गरेको छ ।
एभरेस्ट दैनिक बाट









