राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।
मंगलबार काठमाडौंमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै सांसद वलीले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर हुन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’
सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र ताली बजेको थियो । सांसद वलीले हिन्दू धर्म वैज्ञानिक रहेको पनि बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञान भन्दा पनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दू धर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दू महिलाहरु मंगलबार ब्रत बस्छौं, हिन्दू परम्पराले शरीरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५/१५ दिनमा एकचोटी भोको बस्दा शरीरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि ।’
आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’
सांसद वलीले नेपाली हिन्दूहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन । उनले भनिन्,‘हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो। तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र ? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए, त्यो सकारात्मक छ ।’
न्यूज २४नेपाल बाट साभार









