प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट बिदा लिएका छन् । उनको कार्यकाल पुस १७ गतेबाट सकिएको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।
मंगलबार एक वक्तव्य जारी गर्दै उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । न्यायालयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्ने शुभकामना पनि दिएका छन् ।
उमेरहदका कारण उनकोे अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा मंगलबार संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरिसकेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानन्यायाधीशको रुपमा नियुक्त गरेपछि उनले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको सर्बोच्च अदालत स्रोतले जानकारी गराएको छ ।










