काठमाडौं, १९ पुस । कैलाली १ बाट निर्वाचित राजपा सांसद रेशमलाल चौधरीलाई जेलमै बसेका बेला सपथ खुवाउने विषयप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई तिखो प्रश्न गरेका छन् ।
शर्माले कैलालीको टीकापुर काण्डमा दूधे बालकसहित आठजना मारिँदा ओलीले ‘प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्’ भनेको स्मरण गराउँदै चोटिलो प्रश्न गरेका छन् । उनले बिहीबार ट्विटमार्फत ओलीलाई भनेका छन्, ‘मयुरको नक्कली प्वांख क्रमशः झर्दैछ ।’
शर्माले कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई न्यायसमेत दिन असफल प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘केपी कमरेडको ‘रामराज्य’ मा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसे गोदबा थाप्दैछन् ! हिजोको भासण र आजको सुशासनबीच नाता सकियो ! मयुरको नक्कली प्वांख क्रमशः झर्दैछ । एसएसपी लक्ष्मण न्यौपाने, दुधे बालक, प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन यहाँलाई ?’
प्रधानमन्त्री ओलीकै निर्देशनमा चौधरीलाई सांसदको सपथ खुवाउन लागेको सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन् । संविधानविद्हरूले चौधरीलाई कानुनअनुसार सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन् ।










