प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा गरेको सम्बोधनका विषयमा सदनमा प्रश्न गर्न नपाए सदन अबरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण संसद् बैठक सूचना टाँसेर २५ गते सम्मका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले सूचना प्रकाशित गरी आइतवार बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश चल्न नसक्ने जानकारी गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेलगत्तै कांग्रेस सांसदहरूले प्रश्न गर्न पाउनु पर्ने भन्दै संसद् बैठक अवरुद्ध गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटपछि बस्ने भन्दै दिउँसो साढे २ बजे बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि भएको छलफलमा कांग्रेसले प्रश्न गर्न पाउनुपर्ने अडान लिएपछि बैठक सूचनामार्फत् स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि संसद् सचिवाल परिसरमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगन थापाले सभामुखको कार्यशैली हुकुमी भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा तथ्याङ्क तोडमोड गरी वक्तव्य दिएकोले आफूहरूले प्रश्न गर्न चाहेको थापाले बताए ।

‘सरकारलाई सदनमा हाम्रो प्रश्न सामना गर्न मन थिएन भने सिंहदरवारबाटै सम्बोधन गरेको भए पनि हुन्थ्यो,’ थापाले भने ।

त्यसअघि संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारका कामकारवाहीको व्याख्या गरेका थिए ।