काठमाडौं– नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले सभामुख कृष्णबहादुर महराले निरंकुशता नलादेको दाबी गरेका छन् । सोमबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख महराको बचाउ गरेका हुन् ।
सभामुख महराले सत्तारुढ दलको पक्षपोषण गरी प्रधानमन्त्रीसँग सांसदहरुलाई प्रश्न गर्न नदिएको आरोप खेपिरहेका बेला नेकपाका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोधका लागि मात्रै विरोध गरेको आरोप लगाए । नेता पौडेलले सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने दाबी समेत गरे । उनले भने,‘सरकारले दृढतापूर्वक सांसदहरुले उठाएका प्रश्नको फेस गर्छ । प्रधानमन्त्रीज्युले सांसदहरुले राखेका प्रश्नको जवाफ दिनुुुहुन्छ ।’
संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले नदिइएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकार र सभामुख महराको चर्को आलोचना गर्दै आएको छ । प्रतिनिधिसभा बैठक पुस २५ गते बस्दैछ ।










