विराटनगर — मोरङ धनपालथान ७ की ८० वर्षीया रुब्दो राजबंशीको मलामी गएका दिवाकर राजबंशीले १५ हजार जरिवाना तिरे । त्यहीँका प्रतिलाल र ताराचन राजबंशीले पनि मलामी गएकै कारण जनही १५ हजार जरिवाना तिरे । रुब्दोको मलामी १२ जना गएका थिए ।

सबैले जनही १५ हजार तिर्नुपर्‍यो । तीमध्ये ८ जनाले जरिवाना तिरिसकेका छन् । बाँकी चार जना फरार छन् । उनीहरूलाई जिल्ला अदालत मोरङले जरिवाना तोकेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘छिमेकमा मरिमराउ हुँदा स्वाभाविक रूपमा मलामी गइन्छ,’ मलामीमध्येका दिवाकरले भने, ‘तर यो मलामी महँगो पर्‍यो ।’ मृत्यु भएको भन्ने खबर आएपछि आफूहरू घर गएर त्यतैबाट मलामी गएको उनले बताए । ‘लास हेर्न दिइएको थिएन, हामीले अन्यथा सोच्ने कुरा पनि भएन,’ उनले भने, ‘पछि बुझ्दा पो रुब्दोलाई छोराले मारेको थाहा भयो ।’

रुब्दोको मृत्यु कात्तिक २२ राति र अन्त्येष्टि २३ गते भएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक कविन्द्र कार्कीका अनुसार उनको मृत्यु कालगतिले नभई छोरा भेटलु र बुहारी रामकुमारीको पिटाइले भएको थियो । यो पुष्टि भएपछि दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न र मलामीलाई जनही १५ हजार जरिवाना तिर्ने आदेश अदालतबाट भएको उनले बताए ।

स्थानीयका अनुसार रुब्दोको नाममा ८ बिघा जमिन थियो । भेटलु उनका एक्ला सन्तान हुन् । उनलाई कमाइ खान एक बिघा दिएकी थिइन् । छोरा बुहारी र रुब्दोबीच मिलाप थिएन । त्यसैले उनी बेग्लै बस्दै आएकी थिइन् । ‘बिहानबेलुका खाना छोरा बुहारीले नै पुर्‍याइदिन्थे,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘कात्तिक २२ राति पनि छोराबुहारी खाना लिएर रुब्दोकोमा पुगे । त्यस बेला रुब्दोले नराम्रो गाली गरिछन्, त्यही झोंकमा छोरा भेटलुले कोदालोले टाउकोमा प्रहार गरेछन् ।’

आमाको हत्यापछि भेटलु र रामकुमारीले घटना आमा लडेर मरेको बनाउन रुब्दोलाई ओछ्यानमै कपडाले छोपेर राखेर कपडा र भुइँमा लपतिएको रगत धोइपखाली गरेर प्रमाण मेटाउने काम गरेछन् । भोलिपल्ट उज्यालो भएपछि भेटलुले गाउँलेलाई आमा राति खाटबाट लडेर मरेको सुनाएका थिए । प्रहरी निरीक्षक कार्कीले भने, ‘त्यस दिन भाइटीका भएकाले उनका १२ जना छिमेकी घटनास्थल पुगेर लासको सदगद गरेछन् ।’ तर लास उठाउँदा र सदगद गर्दा भेटलुले आमाको अनुहार (कोदालोले हानेको ठाउँ) कसैलाई पनि हेर्न दिएनछन् । ‘त्यसपछि मलामीलाई शंका लागेछ,’ उनले भने, ‘सदगद गरेको दिन राति एक स्थानीयले फोन गरेर रुब्दोको मृत्यु कालगतीले नभई हत्या हुन सक्ने भन्दै जानकारी दिए ।’

त्यसपछि लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । प्रहरी त्यहाँ पुग्दा भेटलु आमाको क्रिया गर्न बसेका थिए । प्रहरीले उनकी पत्नी रामकुमारीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भेटलुले आमाको गाली सहन नसकेको झोकमा कोदालोले हान्दा उनको तत्कालै मृत्यु भएको र मलामी कसैलाई पनि कोदालोले हानेको ठाउँ हेर्न नदिएर सदगद गरेको स्वीकारेका थिए ।

रुब्दोका सबै कपडा जलाउनुका साथै घटनास्थलका सबै प्रमाण भेटलुले नष्ट गरेका थिए । ‘हत्यामा प्रयोग गरिएको कोदालो प्रहरीले फेला पार्‍यो । कोदालोमा लागेको रगतका कारण प्रहरीले अनुसन्धानलाई टुंगोमा पुर्‍याएको कार्कीको भनाइ छ । प्रहरीले प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । केही दिनअघि जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले भेटलु र रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने र मलामी सबैलाई जनही १५ हजार जरिवाना गर्ने आदेश गरेको हो ।

रुब्दोको मलामीमा स्थानीय दिवाकर राजबंशी, दुर्गाप्रसाद राजबंशी, प्रतिलाल राजबंशी, पाण्डव राजबंशी, विक्रम राजबंशी, ताराचन राजबंशी, मंगल राजबंशी, सुरज राजबंशी, अर्जुन राजबंशी, नेफालाल राजबंशी, अशोक मण्डल केवट र सुमन गिरी मलामी गएका थिए । तीमध्ये दिवाकर, दुर्गाप्रसाद प्रतिलाल, पाण्डव, विक्रम, ताराचन, अशोक र सुमन अदालतमा हाजिर भएर जनही १५ हजार बुझाएका छन् । प्रहरीका अनुसार मंगल, सुरज, अर्जुन र नेफालाल फरार छन् । कान्तिपुर बाट साभार

फोटो: गूगल बाट