काठमाडौं । गएको साउन १० गते बलात्कारपछि मारिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता नलागरिहेका बेला उनकी आमाले बुधबार डीएनए परीक्षणका लागि आफ्नो रगतको नमुना दिएकी छन् ।

निर्मलाको भेजिनल स्वाबबाट प्रहरीले संकलन गरेको डीएनए नमुनामाथि अविश्वास भइरहेका बेला आमाले छोरीको डीएनएसँग आफ्नो डीएनए म्याच गराउन रगतको नमुना दिएकी हुन् । कञ्चनपुर प्रहरी प्रमुख कुबेर कडायतले दुर्गादेवीको रगत डिएनए परीक्षणका लागि संकलन गरिएको पुष्टि गरे । उनले डीसीनेपालसँग भने, ‘हामी कहाँ उनी आएकी थिइन्, महाकाली अञ्चल अस्पतालबाट उनको रगतको नमुना संकलन गरिएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्मला प्रकरणमा हालसम्म पक्राउ परेकाहरुको डीएनए परीक्षण गर्दा म्याच भएपछि धमाधम छुटेकाले प्रहरी पनि तनावमा छ भने पीडितहरुले प्रहरीले संकलन गरेको निर्मलाको डीएनए नमुना नै लगत भएको आशंका गरिरहेका छन् ।

अब दुर्गादेवीको डिएनए परीक्षणबाट प्रहरीले संकलन गरेको निर्मलाको डीएनएबारे भने स्पष्ट हुनेछ । किनकी आमा र छोरीको डिएनए म्याच हुन्छ । यदि दुर्गादेवीको डीएनए र प्रहरीले संकल गरेको निर्मलाको डीएनए म्याच भएन भने प्रहरीको कुर्तत खुल्नेछ भने यसले यो प्रकरणमा नयाँ मोड लिनेछ । तर, म्याच भयो भने हालसम्म विश्वास गुमाएको प्रहरीका लागि केही राहत हुनेछ । तर, दोषी पत्तालगाउन भने कुनै सहयोग हुने छैन ।

यो प्रकरणमा दर्जनौ मानिसको डीएनए परीक्षण भएको छ । यतिमात्र होइन तत्कालि कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराकोसमेत डीएनए परीक्षण गरिएको थियो ।

यो प्रकरणमा एसपी विष्ट र अर्का प्रहरी निरीक्षक जगदशि भट्ट सेवाबाट बर्खास्त भइसकेका छन् । तर, घटनाको ५ महिना पुग्दा पनि प्रहरीले कुनै सुराग फेला पार्न सकेको छैन । उल्टै विश्वास गुमाउँदै गएको छ । डिसी नेपाल बाट साभार