काठमाडौं, ८ फागुन– सत्तारुढ कांग्रेस र माओवादीले मधेसी मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने परिस्थिति नरहेको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बिहान बसेको प्रमुख सत्तारुढ दुई दलको बैठकले चुनाव घोषणा अब ढिलाई गर्न नहुने निश्कर्ष निकालेका हुन् ।
शनिवार मधेसी मोर्चाका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा संविधान संशोधन नगरी चुनाव घोषणा गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाका नेताहरुले चेतावनी दिएका थिए । सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो ।
अहिलेको अवस्थामा संविधान संशोधन गरेर चुनाव सम्भव नभएको कांग्रेस र माओवादीका नेताहरुको निश्कर्ष रहेको बैठकमा सहभागि नेताहरुले वताए । ‘संविधान संशोधन अघि बढ्दै गर्छ तर अव संविधान संशोधन गरेर मात्र चुनाव भन्ने सम्भव छैन’ बैठकपछि ती नेताले भने, ‘चुनाव मिति घोषणा गरेर संशोधन प्रक्रियालाई अघि बढाउँदा राम्रो हुन्छ ।’



