काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डप अहिले नयाँ रौनक देखिन्छ । विभिन्न सभा, सम्मेलन प्रदर्शनी भइरहने भृकुटीमण्डपमा अहिले एउटा राजनीतिक बहसले छपक्कै छोपेको छ ।
नाचगान, रंग, रमाइलो, नेताहरुलाई भोट माग्दै हिड्नेहरुको झुण्डले नयाँ परिवेश बनाएको छ । झण्डै दुईहजार नेता कार्यकर्ताको भीडमा दुईजना मुख्य आकर्षणको केन्द्र बनेका छन् । अध्यक्षका दावेदार कमल थापा र डा प्रकाशचन्द्र लोहनी होइनन्, गायीका कमल ओली र नायिका रेखा थापा प्रतिनीधिहरुका लागि आकर्षणको केन्द्र भागमा छन् ।
राप्रपाको एकता महाधिवेशनमा थापा र ओली दुइ वटै केन्द्रिय सदस्यको लागि मैदानमा उत्रिएकी छिन् ।
थापासँग फोटो खिच्ने भिड
‘एकै छिन, एक छिन’ हातको मोबाईल साथीलाई दिदै रेखा थापाका जीउमा टाँस्एिर फोटो खिच्न तछाड मछाड हुन्छ । थापा पनि मुसुक्क हाँस्दै कुममा कुम जोडिएदिएपछि प्रतिनीधि मख्ख ।
थापालाई मत दिने बाचाका साथ महाधिवेशनस्थल भृकुटीमण्डपमा उनीसँग तस्बिर खिच्नेहरुको ठूलो भीड लाग्ने गरेको छ । कति जनासँग फोटो खिचाईयो होला ? प्रश्न खस्न नपाउँदै थापाले हास्दै भनिन ‘पुगे होलान नी हजार १२ सय ।’ काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आफूलाई केन्द्रिय सदस्यमा अमूल्य मत दिएर विजय गराउनको लागि थापा यतिवेला महाधिवेशन प्रतिनिधिहरुको बीचमा भोट मागिरहेकी छिन् ।
राप्रपालाई नयाँ उचाईा पुर्याउने थापाको एजेण्डा छ । थापाले आफ्नो प्रतिस्पर्धी कोही नभएकाले सबैभन्दा धेरै मत ल्याएर जित्ने विश्वास लिएकी छन् ।
कोमल ओलीमा पनि आकर्षण
पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल ओली पनि अर्को आकर्षणकी पात्र बनेकी छन् । उनप्रति राप्रपामा आकर्षण देखिएको छ । खुला केन्द्रीय सदस्यमा लडेकी ओलीसँग पनि हात मिलाउने, फोटो खिच्ने, भोट दिन्छु भन्नेहरुको तँछाड मछाड नै चलेको छ ।
राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् । सबैभन्दा धेरै सेल्फी लिनेको भीड लाग्ने गरेको छ ।
रेडियो नेपालको जागिर समेत छाडेर राजनीतिमा आएकी ओली एक नम्बरमा मत ल्याएर जित्ने दावीसहित मैदानमा भिडेकी छन् । उनले भोट माग्ने बेला भन्ने गरेकी छन् ‘म खुला सदस्यमा उठेकी छु है, महिला कोटामा होइन । एक भोट मलाई दिनुहोला ।’
भावी अध्यक्षमा भने थापा र ओली दुइटैको समर्थन कमल थापालाई नै रहेको छ ।



