काठमाडौं, ११ फागुन । माओवादी पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेको दुई महिनाभित्रै अभिनेत्री रेखा थापाले महिला आरक्षणबाट केन्द्रीय सदस्य पद पड्काएकी छिन् ।
संगठन गर्ने बेला माओवादीमा रहेर निश्क्रिय बसेकी रेखालाई राप्रपाको एकता महाधिवेशन बम्पर उपहार बन्न पुगेको छ । महिला आरक्षित कोटामा दोस्रो नम्बरमा रहेकी रेखाले १ हजार ६ सय ३ मत पाएकी छिन् ।
राजनीतिमा सक्रिय रहेका र खुला रुपमा प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि राखिएको आरक्षित महिला सिटमा उम्मेदवारी दिएकी रेखाले दुई महिनाभित्र राप्रपामा बम्पर उपहार पाएको चर्चा हुन थालेको छ । रेखाका कारण गाउँबाट आएकी कम्तिमा एकजना महिलाको बाटो केन्द्रीय कार्यसमितिमा रोकिएको छ ।
महिला आरक्षित कोटामा सांसद तथा पूर्वराज्यमन्त्री कुन्ति शाहीले एक नम्बरमा जितेकी छिन् । शाहीले महिला आरक्षित सिटमा एक नम्बर बन्न सफल भएकी हुन् । शाहीले १ हजार ८ सय ४८ मत पाएकी छिन् ।
रेखाभन्दा पहिलादेखि राप्रपामा रहेर संगठन गर्दै आएकी गायिका मीरा राणा तेस्रो नम्बरमा छिन् । राणाले १ हजार ४ सय ५२ मत पाएकी छिन् । चौथो नम्बरमा प्रेक्षा मल्लले १ हजार ३ सय ३१ मतसहित विजयी हासिल गरेकी छिन् ।
रेखाको तुलनामा गायिका कोमल ओली निक्कै अब्बल देखिएकी छिन् । कोमल ओली महिला आरक्षित सिटमा उम्मेदवारी दिइनन् । बरु कोमल सिधै खुला केन्द्रीय सदस्यमा पुरुषहरूसँग भिड्न पुगेकी थिइन् ।
कोमल ओलीले दिग्गज पुरुष उम्मेदवारहरूलाई पनि धेरै पछाडि पार्न सफल भएकी छिन् । ओलीले लोकप्रिया तेस्रो स्थानमा मत पाएकी छिन् । उनले १ हजार ८ सय ५७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।



