११ फागुन– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक/दुई दिनाभित्रै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्केको भोलिपल्टै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चा घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनले यादव देशबाहिर रहेका कारण मात्र समर्थन फिर्तासम्बन्धी निर्णयमा ढिलाइ भएको बताए । बुहारीको क्यान्सरको उपचारका सिलसिलामा यादव दिल्ली गएका हुन् ।
‘उपेन्द्रजी दिल्लीमा हुनुभएको कारण सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ भएको हो’, गणतान्त्रिक अध्यक्ष यादवले भने, ‘उहाँ आज आए भोलि, भोलि आए पर्सी समर्थन फिर्ता हुन्छ ।’ यादवले प्रधानमन्त्री र सत्ता गठबन्धनले मोर्चालाई धोका दिएकाले सबै विषयको फैसला अब आन्दोलनबाटै हुने चेतावनी दिए । निर्वाचन स्थगित नगरेसम्म सरकारसँग वार्ता, संवाद वा कुनै प्रकारको सम्बन्ध स्थापित हुन नसक्ने उनले प्रष्ट्याए ।
‘हामी सडकबाट सदनमा र आन्दोलनबाट वार्ता र संवादमा आएका थियौं’, यादवले भने, ‘मैले प्रचण्डजीलाई एक्लै भेटेर पनि तपाईंलाई अन्तिमसम्म काँध थाप्न हामी तयार छौं, संविधान संशोधन नभई निर्वाचन घोषणा नगर्नुस् भनेको थिएँ, तर सरकारले धोका दियो ।’
सरकारी रबैया अनुसार नै आन्दोलनको कार्यक्रम तय हुने उनले जनाए । ‘सरकार जसरी प्रस्तुत हुन्छ, त्यसरी नै आन्दोलन अगाडि बढ्छ’, उनले भने । सरकारले आगामी ३१ जेठका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि मोर्चाले आन्दोलन घोषणा गरिसकेको छ ।
काठमन्डु टुडेबाट



