दमक/गृहमन्त्री विमलेन्द्र निधीले नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भिर आपत्ती जनाएको छ ।
राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको भन्दै आपत्ती जनाएको हो । मंगलवार जारी गरिएको बिज्ञप्तिमा भनिउको छ—सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।
अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको प्रति आफूहरुको आपत्ती रहेको प्रचार बिभाग प्रमुख योगेश भट्टराइले बताउनु भयो । उहाँले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट भएको जनाउनु भयो ।



