२० फागुन– आफूले ‘एमालेलाई लखेट्ने निर्देशन’ नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट पार्न बिहीवार राती बालकोट पुगेका गृहमन्त्री विमलेन्द्र निधिलाई आश्चर्य पार्नेगरी प्रश्न गरे, ‘तपाईंले कांग्रेस छोड्या त छैन नि है !’
नेपाली कांग्रेस पार्टीमै रहे पनि सरकारमा बसेर मधेसी मोर्चाको भूमिका निभाइरहेका निधि लाहनमा नेपाल महिला संघको कार्यक्रममा आफूले गरेको भाषणबारे स्पष्ट पार्न बिहीवार राती ओली निवास पुगेका हुन् । निधिले आफूले लाहानमा फागुन १५ गते भएको महिला संघको कार्यक्रममा एमालेलाई लखेट्नु भन्ने शब्द प्रयोग नगरेको वताए ।
ओलीले भने निधिलाई आफूले कांग्रेसमै रहेको ठानेकाले एमालेलाई लखेट्ने निर्देशन दिएको सुन्दा आश्चर्य लागेको वताएका थिए । ‘त्यही त, तपाई कांग्रेसमै हुनुहुन्छ जस्तो लाग्या थियो, एमालेलाई लखेट्नु भन्नु नपर्ने हो’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कहिलेकाहीँका कुरा सुन्दा त कांग्रेस होइन कि जस्तो पनि लाग्छ, कांग्रेस छोड्या त छैन नि है !’
१५ गतेको महिला संघको कार्यक्रममा निधिले एमाले विरुद्ध भण्डाफोर गर्न र गाउँमा एमाले कार्यक्रम गर्न गए राष्ट्रघाती भन्दै खेद्न कार्यकर्तालाई निर्देशन दिएका थिए । समारोहमा कांग्रेस नेता महेन्द्र यादवले त लाठो लिएर लखेट्न समेत भनेका थिए । तर, ओलीलाई भेट्न बालकोट पुगेका निधिले भने एमालेको मेची महाकाली अभियानको सुरक्षा ब्यवस्थाका लागि निर्देशन दिएको वताए ।
–



