दमक/झापामा शुक्रबार अपरान्ह देखि प्रहरीको निन्द्रा हराएको छ । नेकपा एमालेको आजदेखि शुरु हुने मेची महाकाली अभियानमा सहभागि हुनका लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका भिआइपिहरु झापामा आएपछि सबै शक्ति प्रहरीले सुरक्षामा लगाएको छ ।
पूर्व सभामुख, दूइदर्जनभन्दा बढि मन्त्रीहरु, ५० भन्दा बढि साँसदहरु, पार्टीका सम्पूर्ण पदाधिकारी तथा केन्द्रिय नेताहरु शुक्रबार नै झापा आइसकेकाछन् । जनताको घरमा गाँस र बाँस भनेर घरघरमा नेताहरु बसेकाले को कहाँ बसेको छ भनेर पत्ता लगाउन र त्यहाँ सुरक्षा दिनका लागि प्रहरीलाइ भ्याइनभ्याइ भएको प्रहरी श्रोतको भनाइ रहेको छ ।
कतिपयले भिआइपिहरुलाइ प्रहरी २४ सै घण्टा सुरक्षा प्रदान गर्नु पर्ने हुन्छ । यसमा पूर्व प्रधानमन्त्रीहरु पर्नेछन् । एकैसाथ धेरै भिआइपिहरु आउदा र बेग्लाबेग्लै ठाँउमा बस्दा सुरक्षाको बन्दोबस्त मिलाउन केहि समस्या भएपनि त्यस्तो असहज र अप्ठेरो नरहेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
सुरक्षाको कुनै कमी हुन नदिने र सुरक्षाको राम्रो प्रवन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र पूर्व मन्त्रीहरुलाई बिशेष सुरक्षा राज्यले प्रदान गर्ने गर्छ । पूर्व प्रधानमन्त्रीहरुले स्कर्टिङ समेत पाउछन् । नेकपा एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकका अनुसार जिल्लामा एकहजार भन्दा बढि पार्टीका नेता तथा भिआइपिहरुको आगमन भएको छ ।



