२२ फागुन– एमालेको मेची–महाकाली अभियान बिथोल्न मधेसी मोर्चाले हिंसात्मक तरिका अवलम्बन गरेको छ । देशको जुनसुकै क्षेत्रमा पनि शानितपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने अधिकारका विरुद्ध मधेसी मोर्चाले एमालेका पूर्वनिर्धारित कार्यक्रम बिथोल्न लाठी जुलस, बन्द, चक्काजामजस्ता हिंसात्मक कार्यको आयोजना मात्र गरेको छैन ढुकेर छापामार शैलीमा एमालेका नेता कार्यकर्तामाथि आक्रमण समेत गर्न थालेको छ ।
आन्दोलनका नाममा तराईमा सुरक्षाकर्मी र दूधे वालकलाई भाला रोपेर मार्ने, अनि अस्पताल लैजाँदै गरेका विरामीलाई एम्बुलेन्समा जलाएर खरानी बनाउँदै आएको मधेसी मोर्चाले अन्य पक्षको शान्तिपूर्ण सभा बिथोल्न हिंसात्मक बाटो समातेको छ । मधेसी मोर्चाले आफूलाई संविधान विरोधी वताए पनि उ सत्ता समर्थक दल हो । मधेसी जनताको नाममा ५६ जनाको ज्यान लिएपछि उनीहरुको रगतसँग मोर्चाका नेताहरुले रुपैयाँ साटेर लिइसकेका छन् ।
गत पुस महिनादेखि नै एमालेले तय गरेको मेची महाकाली अभियानलाई बिथोल्न मोर्चाले यसै साता तराईका केही ठाउँमा एमालेका कार्यक्रम ताकेर बन्द, हड्ताल, लाठी जुलुस र चक्काजाम जस्ता हिंसात्मक कार्यक्रम आयोजना गरेको छ । गतसाल प्रत्येक तराईवासीलाई आन्दोलनमा ज्यान गए ५० लाख दिने प्रलोभन देखाएर हिंसमा होम्न वाध्य बनाएजस्तै अहिले पनि मोर्चाले एमालेका कार्यक्रम बिथोल्न हतियार लिएर सडकमा आउन स्थानीयलाई दवाव दिएको छ ।
एमालेको अभियान सुरु हुनु अघिल्लो दिन सप्तरीमा एमाले जिल्ला उपसचिवमाथि बाटो ढुकेर बसेको मोर्चाको एक समुहले मोसो दल्यो । आधुनिक युगमा कुनै ब्यक्तिमाथि विनाकारण अर्काे दलमा सक्रिय भएको अभियोगमा यस्तो काम गर्न पाइँदैन । तर, मोर्चाका गतिविधि तालिवानी र बोकोहराम जस्ता आपराधिक समुहलाई माथ गर्ने खालका देखिंदै आएका छन् ।
संविधानसभाले बनाएको संविधान भारतीय आड लिएरा ११ जनाले अस्वीकार गर्दा सिंगो देशले उनीहरुसँग आत्मसमर्पण गर्नु पर्ने, संविधान मान्दैनौं भन्ने तर, ब्यक्तिगत फाइदाका लागि सरकार बनाउन संसदमा भोट हाल्न आउने र सरकारलाई भोट दिएवापत करोडौं रुपैयाँ असुलेर लैजाने काम मोर्चाले गरिसकेको छ । तर, उ अझै आफ्ना गतिविधि मधेसी जनताका लागि भन्ने झूठ प्रचार पनि गर्छ र अरु दलका शान्तिपूर्ण कार्यक्रम पनि बिथोल्छ । संविधान संशोधनको माग गर्छ र संशोधन प्रस्ताव संसदमा मतदान हुँदा पारित नभए मान्दिनँ भन्छ । मध्ययुगिन ब्यवहार र शैलीको भारतीय खेलौना बनेका मोर्चाका नेताहरुप्रति तराई मधेसका जनता पनि वाक्क छन् । मोर्चाको अभियान भारतीयहरुलाई भित्र्याएर नेपाली मधेसी जनतालाई अल्पमतमा पार्ने मात्रै हो भन्ने विस्तारै खुल्दै गएको छ ।
एमालेले दुई महिनाअघि तय गरेको कार्यक्रम बिथोल्न मोर्चाले जुन जुन दिन जहाँ जहाँ कार्यक्रम राखेको छ त्यही आफ्नो कार्यक्रम भएको भनी निहुँ खोजिरहेको छ ।
संविधान संशोधन प्रस्ताव अघि नबढेकामा संसदीय प्रक्रियाको निकै ठूलो चिन्ता गर्ने लेखक सम्पादक र बौद्धिक वर्ग मोर्चाको यस्तो मध्युगिन शैलीप्रति भने मौन छन् । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आफ्ना मान्यता जनतासमक्ष राख्ने अधिकार सबैलाई हुन्छ । कसैका विचारको समर्थन गर्ने वा नगर्ने अधिकार जनताकै हो । तर, जनताबीच आफ्ना कुरा राख्नै नदिने ब्यवहारप्रति यस्ता लेखक टिप्पणीकारको मौनता भने निकै डरलाग्दो कुरा हो । मोर्चाको हिंसात्मक र गैरलोकतान्त्रिक चरित्रको पृष्ठभागमा यस्ता विचारकहरुको समर्थन छ भन्न गाह्रो पर्ने छैन ।
एमालेले लोकतान्त्रिक ब्यवस्थामा शान्तिपूर्ण गतिविधि नियन्त्रण गर्ने सत्तापक्षीय मोर्चाको ब्यवहार फासीवादी र आपत्तीजनक रहेको भन्दै आफ्नो कार्यक्रम निरन्तर अघि बढाउने वताएको छ । दुईमहिना अगाडि नै निर्धारित कार्यक्रमबारे गृहप्रशासनलाई जानकारी दिइए पनि सत्ता समर्थक दल मधेसी मोर्चाले त्यसलाई बिथोल्न एमालेका कार्यक्रम ताकेर लाठी जुलसजस्ता हिंसात्मक कार्यक्रम जुधाएको प्रति एमालेले आपत्ती जनाएको हो ।
-चक्रपथबाट



