दमक/आइतवार बसेको निर्वाचन आयोगको बैठकले २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि लागू गरिएको निर्वाचन आचार संहिता सम्बन्धमा थप स्पष्ट गरेको छ । निर्णय अनुसार प्रधानमन्त्रीले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्विकृती लिएर मात्र प्रयोग गर्न तथा निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने उल्लेख गरेको छ ।
मन्त्रीले सरकारी कामको सिलसिलामा सरकारी सवारी साधन तथा राजनीतिक कामका सिलसिलामा निजी सवारी साधन प्रयोग गर्दा आयोगको पूर्व स्वीकृती लिएर मात्र जिल्लाको सदरमुकामसम्म प्रयोग गर्न पाउने बताइएको छ । निर्वाचन प्रचार–प्रसारमा मन्त्रीहरु संलग्न नहुने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको ।
आजैको निर्णयमा सांसदहरूलाई कुनै दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि सरकारी सवारी साधन एवं सरकारी साधन स्रोत प्रयोग नगर्ने व्यवस्था हुन व्यवस्थापिका संसद सचिवालयलाई निर्देशन दिने तथा विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरूको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने समेत निर्णय भएको आयोगका सहसचिब तथा प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।



