हेटौडा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजविराजमा एमाले नेतृत्वको सामूहिक हत्या गर्ने कोसिस गरिएको बताएका छन् । देशका लागि मर्नु परेमा नेकपा (एमाले) अक्ष्यक्ष र यसका नेताहरु तयार रहेको बताएका छन् ।
मेची–महाकाली राष्ट्रिय अभियान अभियान अन्र्तगत हेटौंडाको भुटनदेवी विद्यालय परिसरमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले नेताहरुलाई ज्यान भन्दा देश प्यारो भएको बताए । उनले भने, ‘देशका लागि मर्नु परेमा नेकपा (एमाले) अक्ष्यक्ष र यसका नेताहरु तयार छन् । हामी मर्यौँ भने नेतृत्व गर्न हाम्रा हजारौँ नेताहरु तयार छन् । तर, ख्याल राखे हुन्छ, एमालेका नेता–कार्यकर्ताको हत्या गर्ने मधेसी मोर्चाका नीति महंगो पर्नेछ ।’ नेकपा (एमाले) का नेता–कार्यकर्ताहरुलाई तराईमा मारेर राष्ट्रियता, निर्माण र एकताको अभियान समाप्त नहुने बताए । सत्ता गठबन्धनकै षड्यन्त्रबीच जनताको असाधारण सहभागिता देखिएको उनको भनाई छ । नेपाललाई भारतले मित्रवत् व्यवहार गर्नुपर्ने बताए । उनले भने, ‘अलिकति ठूलो भयो भन्दैमा नेपालका सिमाना मिच्ने, नेपाली भूमिभित्र पसेर नेपाली नागरिकमाथि गोली चलाउने, अनेक काममा अर्घेल्याइँ गर्ने अहंकारबाट भारत मुक्त हुनुपर्छ ।’
नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा पनि केही गर्न नसकेर सरकारले लाचारी देखाएको ओलीको भनाई छ । राजविराजमा मोर्चाले जानाजान रक्तपात मच्चाएको बताए । उनले भने, ‘प्रहरीमाथि आक्रमण गरेर त्यहाँका मानिसलाई मर्न बाध्य बनाएर लासमाथि राजनीति गर्न चाहेको छ । आफू घाइते भएर पनि सुरक्षा कायम गर्ने सुरक्षाकर्मीका अफिसरलाई काठमाडौँ फिर्ता बोलाएबाटै सरकारको नियत छर्लंग हुन्छ ।’
नेकपा (एमाले) गत फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान आजबाट फेरि सुरु भएको छ । सप्तरीको राजविराजमा गत फागुन २३ गते गरिएको आक्रमणपछिको संवेदनशीलतालाई ख्याल गरेर तीन दिनका लागि स्थगन भएको उक्त अभियान शुक्रबार हेटौँडाबाट सुचारु हुँदा हजारौँ जनताले सहभागिता जनाएका छन् । हेटौंडाको भुटनदेवी विद्यालय परिसरमा आयोजित सभामा मकवानपुरका साथै बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट जुलुशसहित सहभागिता थियो । सभाका लागि ठाउँ ठाउँमा स्वागतद्वारा निर्माण गर्नुका साथै स्वागतमा तुल तथा ब्यानरहरुले सहर सजाइएको थियो ।
कार्यक्रममा बोल्दै महासचिव ईश्वर पोखरेलले कसैका धम्कीका सामु आफ्नो पार्टी नझुक्ने स्पष्ट पार्नुभयो । उहाँको भनाइ थियो, ‘जुन शक्तिले यो मुलुकमा संविधान बनाउनबाट रोक्न खोजेको थियो, त्यसैले आज कार्यान्वयन हुनबाट रोक्न खोजिरहेको छ । हामी यस्तो षड्यन्त्रलाई चिर्छौं र संविधान कार्यान्वयन गर्छौं ।’
नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई स्वागत केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा र सञ्चालन मकवानपुर जिल्ला अध्यक्ष मनु सिग्देलले गरेका थिए । नेपाली कांग्रेस, माओवादीलगायतका पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनेहरुलाई पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले अविर लगाएर स्वागत गरे ।




