एमालेको मेची महाकाली अभियानमा जनसमर्थन र जनलहर दिनप्रतिदिन बढ्ने क्रममा सोमबार बुटवलमा मानवसागर थामिनसक्नु भएको जनाईएको छ । सभालाइ सम्बोधन गर्दै एमाले महासचिब इश्वर पोखरेलले भारतलाइ नेपालको संबिधानको बिषयमा नखेल्न चेतावनी दिएकाछन् । नेपालीको संबिधान भारत अर्थात छिमेकीले लेख्ने होइन भन्दै उनले भारतलाइ अनआवश्यक रुपमा हस्तक्षेपकारी भूमिका नखेल्न सचेत गराए । उनले कार्यक्रममा बोलेका मूख्य अंशहरु यस्ताछन्
नेपालको संविधान बनाउने काम छिमेकीको होइन, नेपाली जनताको हो भनेर जसरी हिजो हामीले जवाफ दियौँ र विदेशीको कुनै दाल गलेन, त्यसरी आज उनीहरुको संशोधनको योजनालाई पनि हामी जवाफ दिन्छौँ, असफल पार्छौं । उनीहरुको कोसिसमा देशभित्र रहेका केही मुठ्ठीभर तत्वहरु संविधान च्यात्ने र जलाउनेहरु लागिरहेका छन् । तर, त्यस्तो दूस्साहस गर्नेहरुलाई नेपाली जनताले एकताबद्ध भएर जवाफ दिनुपर्छ ।
एमाले आफ्ना विचार लिएर तराई, पहाड, हिमाल सबैतिर जान्छ, यो संविधानले हामीलाई दिएको अधिकार हो । कसैले त्यसलाई कटौती गर्न खोज्यो भने एमाले किमार्थ स्वीकार गर्दैन । तराई मधेसका जनता एमालेको पक्षमा उभिएको देखेपछि मधेसवादी दावी गर्ने दलहरु आतंकित भएर आक्रमणमा उत्रिए ।
एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पार्टी होइन, समग्र मुलुकको पार्टी हो । त्यसकारण यसले सबैको प्रतिनिधित्व गर्दछ ।
एमालेले मधेसलाई समेटेन, संविधान संशोधन गरिदिए हुन्थ्यो भन्ने गरिन्छ । हामी संविधान संशोधनको विपक्षमा छैनौँ, यो गतिशील दस्तावेज हो । तर, यो औचित्यपूर्ण हुनुपर्छ । अहिले संविधान संशोधनका नाममा नेपाललाई कमजोर पार्न खोजिँदैछ । नेपाली र मातृभाषालाई कमजोर बनाएर अर्कैको देशको भाषालाई संविधानमा घुसाउनु नेपाल र नेपालीको हितमा छ ? मैथिली, बज्जिका, अवधि, राई, तामाङ, थारु भाषाका लागि होइन, हिन्दी भाषाका लागि संशोधन ल्याएर विदेशी भाषालाई सरकारी कामकाजको भाषा बनाउन कुनै हालतमा बन्न दिन्नौँ ।



