नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज बर्दियाको राजापुर र कैलालीको टिकापुरमा भएको आमसभामा एमाले नेताहरुले संबिधान कार्यन्वयन हुन नदिने तत्वहरुलाइ परास्त गरेर एमाले अघि बढ्ने बताएकाछन् । एमालेका बरिष्ठ नेता तथा पूवै प्रधानमन्त्री झलनाथ खनाले कार्यक्रममा सम्बोधन गर्दै यसो भने-
एकताबद्ध भएर राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको छ । यदि त्यो काम कसैले गर्न सक्छ भने एमालेले मात्र गर्न सक्छ । गरिबी, बेरोजगारी, अभाव, विभेद र अविकास हटाउने काम एमालेले मात्र गर्न सक्छ ।
मधेसी मोर्चाले हामीलाई जुलुश र सभा गर्न दिन्न भन्दैछ । यो अधिकार उसलाई कसले दियो ? राजविराजमा हामीमाथि भएको आक्रमण सुनियोजित छ । सभा रोक्नका लागि अनेक प्रयत्न भए पनि हजारौँ जनता सहभागी भएबाट मोर्चाका मानिसहरु आत्तिएका छन् ।
राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार छ । शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको छ । गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर घटनाको न्यायिक जाँचबुझ हुनुपर्छ ।
वर्तमान सरकार देशलाई बोझ बनेको छ । सुशासन दिन सकेको छैन, विकासलाई अघि बढाउन सकेको छैन, बल्लतल्ल निर्वाचन घोषणा गरेको छ । एमालेको दवावका कारण बाध्य भएर निर्वाचन घोषणा गरे पनि आलटाल गर्ने काम गरिरहेको छ । निर्वाचन हुनासाथ एमाले सत्तामा आउँछ भन्ने यिनीहरुलाई डर छ ।
नेपाललाई बलियो भएको देख्न नचाहनेहरु संविधानको विपक्षमा छन् । कार्यान्वयन नै नगरी संविधान संशोधनको बखेडा झिकिएको छ । ६६ प्रतिशतको समर्थनमा बनेको भारतको संविधान आजसम्म चलिरहेको छ । विरोधमा रहेका ३४ प्रतिशतले संविधान संशोधनको आवाज उठाउँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अहिले हुँदैन, लोकसभा निर्वाचनपछि गरौँला भनेका थिए ।



