४ चैत– संविधान जारी भएपछि मूलधारका राजनीतिक पार्टीहरु संविधानका अन्तर्वस्तु जनतालाई बुझाउने अभियान लिएर गाउँ नगएको आरोप दलहरुलाई लाग्दै आएको थियो । यसैबीच संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयन, आर्थिक समृद्धि, राष्ट्रिय एकता, सद्भाव र स्वाधीनताको विषयमा नागरिकहरुलाई जागृह गर्न मेची–महाकाली अभियान लिएर गयो ।
फागुन २१ गते नेपालको पूर्वी सीमाना मेची नदि किनारबाट हजारौंको उपस्थितिबीच सुरु भएको अभियान चैत ३ गते नेपालको पश्चिम सीमाना कञ्चनपुरको खुला मञ्चमा पुगेर समापन भएको छ । अभियानका दौरानमा अध्यक्ष केपी शर्मा ओली देखि तल्लो तहका एमालेका लाखौं कार्यकर्ता मात्रै परिचालित भएनन् जनताले निर्माण गरेको संविधान कार्यान्वयनमा खडा गरिएका ब्यवधानप्रति लाखौं सर्वसाधारणलाई सचेत समेत गरायो ।
भ्रम चिर्ने प्रयास
गतवर्ष संविधानसभाबाट संविधान जारी गर्न नदिन छिमेकी देश भारत खुलेरै प्रस्तुत भएपछि एमालेले संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गरेको थियो । संविधान जारी हुन नदिन भारतले मधेस केन्द्रित दलको मोर्चालाई आफ्नो स्वार्थमा ‘आन्दोलन’मा उतार्ने मात्रै काम गरेन नेपाल बिरुद्ध ६ महिनासम्म नाकाबन्दी नै लगायो । संविधान जारी गर्न मुख्य भूमिका खेलेका कारण एमालेलाई मधेस विरोधी पार्टीको रुपमा चित्रण गरियो, जुन चित्रणका लागि मुलधारका मिडिया देखि पेशेवर ‘बुद्धिजीवी’सम्म प्रयोग भए ।
संविधान जारी भएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए । ओलीले राष्ट्रको शीर उचो बनाएर भारतीय नाकाबन्दीलाई पराजीत गरे । अझ ओलीले पटक पटकको भारतीय नाकाबन्दीका अस्त्रलाई कमजोर बनाउनेगरी उत्तरी छिमेकी चीनसँग पारवहन सन्धी गरी उत्तरी बाटो खुलाए । त्यसबाट झनै चिढिएको भारतले ओली नेतृत्वको सरकार ढाल्न आफ्नो सम्पूर्ण शक्ति खर्च गर्यो र एमालेलाई मधेसी विरोधीको रुपमा झन् धेरै प्रचार गरायो । नेपाललाई आत्मनिर्भरताको बाटोमा हिंडाउन खोजेवापत एमालेलाई मधेस विरोधी भनी प्रचार गरेपछि जनता एमालेतिर आकर्षित हुनु स्वभाविक थियो । एमालेले भने आफ्नो सरकार हुँदा गरेका काम, संविधानले जनताका पक्षमा हासिल गरेको उपलब्धी जनतालाई बुझाउन अभियान लिएर गयो । यस क्रममा सप्तरीमा एमाले सभामाथि मधेसी मोर्चाको आवरण प्रयोग गरी हिंसात्मक आक्रमण गरियो । सोही क्रममा राजविराजमा प्रहरी र सत्तारुढ मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा ४ जनाको ज्यान समेत गयो । यस्तो घटनाको पृष्ठभूमि गृहप्रशासनको नेतृत्व लिएका कांग्रेस नेता बिमलेन्द्र निधिले नै गरेका थिए । उनले एमाले अभियानलाई लखेट्न लाहानमा आव्हान समेत गरेका थिए । मधेसी मोर्चाको ब्यानरमा भएको भाला, बम आक्रमण लगायतका हिंसात्मक कार्यमा भित्री रुपमा कांग्रेस कार्यकर्ता सहभागि थिए । काकडभिट्टाबाट सुरु भएको अभियान सप्तरीको राजविराजमा आइपुग्दा ब्यापक जनसहभागिताका बाबजूद पनि तीन दिन स्थगित गर्नु पर्ने भयो । एमालेका सभामा दशौं हजार मधेसी जनता हुन्थे तर, तिनीहरुलाई मधेसी मानिंदैनथ्यो । मधेसी मोर्चाको आवरणमा आएका बम, भाला, भाटा बोक्ने केही सय हतियारधारी आपराधिक समुहलाई मात्रै मधेसी भन्ने परिभाषा मुलधारका मिडियाहरुले दिंदै आए । शान्तिपूर्ण र क्याराभान शैलीमा राजविराजसम्म आइपुगेको एमालेको अभियान २३ फागुनमा तीन दिनका लागि स्थगित भइ २७ गते हेटौंडाबाट फेरि सुरु भएको थियो ।
२३ आमसभा
यसक्रममा एमालेले पूर्व मेची देखि पश्चिम महाकाली सम्मको एक हजार किलोमिटरको यात्रा तय गर्दै २३ वटा आमसभा गरेको छ । मेचीदेखि कालीसम्म एमालेका सभामा करिव १५ लाख भन्दा बढी जनसहभागिता देखिएको थियो । अभियानको टोलीले राजमार्गमा यात्रा गर्दा स्थानीयले सडक किनारमा उभिएर गरेको स्वागत र स्थानीय झाँकीहरुले तल्लो तहको राजनीतिक गतिविधिलाई पनि चलायमान बनाएको थियो । राजमार्ग छेउका ठूला सहरमा मात्रै होइन तराई मधेसमा भित्री सहरहरुमा पनि एमालेले उल्लेख्य जनसहभागितामा सभा गर्यो ।
बन्दले छेकेन
एमालेका हरेकजसो सभामा दशौं हजारको जनसहभागिता रह्यो । एकै दिन तीन ठाउँमा जनसभा गर्दा पनि हरेक सभामा त्यत्तिकै संख्यामा स्थानीयहरुको सहभागिता थियो । एमालेका निर्धारित कार्यक्रमहरु जहाँ जहाँ छन् मधेसी मोर्चाले एमाले कार्यक्रमको सेड्युल मिलाएरै बन्द आयोजना गरेको थियो । कतिपय ठाउँमा एमाले सभामा सहभागि नहुन उर्दी जारी गर्दै धम्क्याइएको समेत थियो भने कतिपय ठाउँमा सार्वजनिक यातायातमाथि सत्तारुढ मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोलबम समेत प्रहार गरेका थिए । मधेसी मोर्चाको हिंसात्मक गतिविधि र बन्द तथा अवरोधका बावजूद एमालेका हरेक सभामा दशौं हजार नागरिकहरु सहभागि भए ।
मधेसी र थारु नेता स्थापित
एमाले अभियान सुरु हुनु अघिल्लो दिन काकडभिट्टामा बसेको स्थायी समिति बैठकले २१ जना मधेसी र थारु नेताहरुलाई एकैपटक केन्द्रीय कमिटीमा मनोनयन गरेर नयाँ सन्देश दिएको थियो । केन्द्रीय कमिटीमा मधेसी थारु, जनजाति, महिला लगायतका समानुपातिक कोटामा महाधिवेशनबाटै निर्वाचित भए पनि चुनावी प्रतिस्पर्धामा पदाधिकारीमा भने मधेसी नेता आउन सकेका थिएनन् । पछि स्थायी समितिमा सत्यनारायण मण्डललाई चयन गरिएको थियो । अभियान सुरु हुनु एक दिनअघि मधेसी र थारु मुलका नेताहरुलाई एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो । अभियानका क्रममा भएका सभामा पनि एमालेले स्थानीय नेतृत्वलाई स्थापित गर्ने काम गर्यो । मधेस विरोधी भनिएको एमालेका ठूला सभामा वक्ताहरु मधेसी र थारु नेता नै हुन्थे ।
थप्यो उत्साह
संगठन ब्यवस्थापनमा अन्य पार्टीहरु भन्दा अगाडि नै देखिएको एमालेले यसपटक आफ्नो संगठनलाई देशब्यापी रुपमा एकै पटक चलायमान बनाएको छ । उसले अभियानमा आफ्ना लाखौं कार्यकर्तालाई १५ दिनका बीचमा परिचालन गर्यो भने नेता र कार्यकर्ताबीचको सम्बन्धलाई पनि सुमधुर बनाउने कडीका रुपमा अभियानलाई उपयोग गर्यो । मेचीदेखि महाकालीसम्मै अभियानमा हिंडेका नेता कार्यकर्ता एउटै परिवारका सदस्य झैं परिचालित थिए । राजनीतिमा पछिल्लो पटक आएको जाति र भूगोलको विभाजनका तिक्तताहरुलाई पनि एमालेको अभियानले मेट्ने कोसिस गर्यो । एउटा प्रदेशमा भएको कार्यक्रम अर्काे प्रदेश पुग्दा हस्तान्तरणको एमाले शैली निकै चाखलाग्दो र हार्दिक थियो । एमाले अभियानले सातै प्रदेशलाई भावनात्मक एकतामा जोड्न सफल भएको छ । अभियानमा छुटेको प्रदेश नम्बर ६ मा भने सुर्खेतमा फागुन ५ गते एमालेले सभा राखेको छ ।
सप्तरी घटनापछि स्थगित गरिएका प्रदेश नम्बर २ को सिरहादेखि बारासम्मका कार्यक्रम भने सुर्खेतबाट फर्केपछि गरिने एमाले नेताहरुले वताएका छन् ।



