काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय निर्वाचन बिथोलिए त्यसको जिम्मेवारी सम्पुर्ण रुपमा व्यहोर्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीलाई देखाउँदै ओलीले संविधान संशोधन विधेयकका कारण स्थानीय निर्वाचन विथोलिन सक्ने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलका नेताहरूको बैठकमा ओलीले मधेसी मोर्चाले निर्वाचन नचाहेकै कारण विभिन्न बखेडा झिकेको आरोप लगाए । स्रोतका अनुसार ओलीले संविधान संशोधन विधेयकलाई थाँती राखेर स्थानीय तहको निर्वाचन गर्नुका विकल्प नरहेको बताएका थिए ।
एमाले अध्यक्ष ओलीको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफू राजनीतिक सहमति जुटाउन सक्रिय रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका थिए । दाहालले तोकिएको समयमा चुनाव आवश्यक रहेको उल्लेख गरे । जवाफमा ओलीले स्थानीय चुनावका लागि सहयोग गर्न एमाले तयार रहेको उल्लेख गरेका थिए ।
बैठकमा ओलीका कुरा सुनेपछि प्रधानमन्त्री दाहाल गम्भीर बनेको सहभागी एक नेताले बताए । बैठकमा अन्य नेताहरूले संशोधन विधेयकका विषयमा छिटोभन्दा छिटो राजनीतिक सहमति जुटाउन पहल गर्नुपर्ने बताएका थिए । बैठकमा प्रधानमन्त्री दाहालका साथै एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरूको उपस्थिति रहेको नेताहरूले बताएका छन् ।



