काठमाण्डौ– सर्वोच्च अदालतले केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीमा कार्यरत डिआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेका डिआईजी जयबहादुर चन्दको नियुक्ती वदर गर्ने फैसला समेत गरेको छ । अदालतले वरियता,योग्यता र चार वर्षको आर्थीक कार्यसम्पादन मूल्यांकनमा समेत निवेदक सिलवाल अघि रहेको भन्दै यी सवैलाई आधार मनाएर महानिरीक्षक नियुक्त गर्न सरकारका नाममा परमादेश दिएको छ ।
सर्वोच्चको फैसलामा भनिएको छ –‘कार्यसम्पादन मूल्यांकनमा पहिलो अर्थात् सबैभन्दा बढी अंक प्राप्त गरेका व्यक्तिलाई छाडेर चौथौै क्रमका व्यक्तिलाई बढुवा गर्नुबाट निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको देखिन्छ’ । ‘शैक्षिक योग्यता तालिमसमेत जयबहादुर चन्दको तुलनामा नवराज सिलवालकै माथिल्लो स्तरको अर्थात् बढी योग्यता देखिएको फैसलामा उल्लेख छ ।’
अदालतले पुरस्कार, विभुषण, प्रशंसा आदिका दृष्टिलेसमेत चन्दको तुलनामा सिलवाल नै बढी योग्य रहेको भन्दै यी कुराहरुलाई कार्यसम्पादन स्तर सूचकका रुपमा हेर्नु पर्ने दावी गरेको छ ।
‘सिलवालमा प्रहरी नियमावली २०७१ को नियम २९ अनुसार बढुवाका लागि सम्भाव्य उम्मेद्वार हुन नपाउने कुनै पनि अयोग्यता रहेको तथ्य कहिँकतैबाट खुल्न आएको पाइएन । यस अवस्थामा सिलवाललाई बढुवा नदिई जेष्ठता (बरिष्ठता) र कार्यक्षमता मूल्यांकन समेतका दृष्टिले पछिल्लो बरियता क्रममा रहेका चन्दलाई बढुवा गर्ने गरी भएको मन्त्रिपरिषद् निर्णय त्रुटीपूर्ण र कानुन प्रतिकुल देखिन आयो’, सर्वोच्चले भनेको छ । सर्वोच्चले बहालवाला डिआइजीमध्येका योग्यतम् तथा विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा प्रतिष्पर्धीमध्ये औसत उच्चतम् अंक प्राप्त गरेका व्यक्तिलाई तत्काल आइजिपी नियुक्त गर्न सरकारको नाममा परमादेश जारी गरेपछि सिलवाल नै महानिरीक्षक वन्ने पक्का भएको छ ।
डिआइजी भएको ’२०६९ देखि २०७३ सम्मको चार वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कूल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको पनि फैसलामा उल्लेख छ ।
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीसम्वन्धी मंगलवार अन्तिम फैसला गरेसंगै जयबहादुर चन्दको नियुक्ती वदर भएको हो । स्रोतकाअनुसार सरकारले सिलवाललाई आईजिपी बनाउन मन्त्रिपरिषदको वैठक बोलाउने तयारी गरेको छ ।



