ईश्वर भट्टराई / विराटनगर स्थानीय तह पुनर्संरचना कार्यान्वयनमा आएसँगै मोरङ स्थानीय तह निर्वाचनको चर्चा बढेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रमुख दलहरू चुनाव केन्द्रित विभिन्न अभियान चलाइरहेका छन् । एकातिर चुनावी अभियान चलिरहेको छ भने अर्काेतिर स्थानीय तहमा मेयर तथा अध्यक्षको चर्चासमेत शुरू हुन थालेको छ । एक उपमहानगरपालिका र ८ नगरपालिकामा मेयर तथा ८ वटा गाउँपालिका अध्यक्षमा कुन पार्टीबाट कसकसले टिकट पाउलान्, कसले चुनावमा जित्ला, कुन वडामा कसको बर्चस्व रहला भन्ने विषय चोक, कार्यालय, सार्वजनिक स्थल र गाउँघरमा बहस हुन थालेको हो । चुनावले नेतालाई छोएको छ नै जनतालाई पनि डेढ दशकपछि हुन लागेको निर्वाचनले उत्साह थपेको छ ।
बिराटनगरमा कसको अबस्था कस्तो ?
मुलुककै दोस्रो ठूलो शहरको रूपमा रहेको विराटनगर उपमहानगरपालिकामा मेयरका लागि दर्जनभन्दा बढी आंकाक्षी देखिएका छन् । विभिन्न पार्टीबाट दर्जन आकांक्षी देखिएपनि विराटनगरमा कांग्रेस र एमालेबीच नै मेयरमा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसो त मधेसी समूदायको बाहुल्यता रहेकाले मधेशवादी दल एकीकृत भएर राम्रो उम्मेद्वार दिन सके ठूला दललाई काउण्टर भने दिन सक्छन् । तर त्यस्तो सम्भाबना कम छ । यस्तै राप्रपा र राप्रपा नेपाल एकीकरण भएकाले राप्रपाका उम्मेद्वारले पनि ठूला पार्टीका उम्मेद्वारलाई काउण्टर दिन सक्छन् । त्यसैले यहाँ मेयरका लागि राप्रपा र मधेसी दल निर्णायक देखिएका छन् ।
प्रदेश नं. १ को केन्द्रको रूपमा रहेको विराटनगरमा कांग्रेसका तर्फबाट मेयरका लागि अहिले दर्जन आकांक्षी देखिएका छन् । विराटनगरको मयेरमा विशेषगरी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले आआफ्ना पक्षकालाई मयेर र उपमेयरमा टिकट दिलाउन लविङ शुरू गरेका छन् । मेयरमा चुनाव जित्न जातीय र क्षेत्रीय सन्तुलन मिलाउनै पर्ने भएकाले पनि मेयरको टिकट दिदाँ धेरै सोच विचार गरेर दिनुपर्ने त्यहाँका पुराना नेताहरूको धारणा छ । मधेसी समूदायको बाहुल्यता रहेको विराटनगरमा पूर्वी पहाडी जिल्लाबाट बसाई सरेकाहरूको बाहुल्यता पनि मधेसी समूदायकै हाराहारीमा छ । त्यसैले पनि मधेसी र पहाडी समूदायको सन्तुलन मिलाएर टिकट दिलाउनै पर्ने अवस्था देखिन्छ ।
मेयरका लागि अहिले नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, भीम पराजुली, नागेश कोइराला, विश्वनाथ रिजाल, फुलकुमार लालवनी, रूक्मिणी कोइरालालगायत आकांक्षी छन् । उपमेयरका लागि कांग्रेसबाट प्रमिला थापा, रेखा पराजुली लगायतको चर्चा छ ।
त्यसैगरी एमालेबाट सागर थापा मेयरका दावेदार छन् । अर्काेतर्फ पार्टी अध्यक्ष विनोद ढकाल आफै उठ्ने मनस्थितिमा नभएपनि उहाँलाई पार्टीभित्र कार्यकर्ताले मेयरका रूपमा दर्शाएका छन् । तर, ढकालले भने महेश रेग्मीलाई प्रस्ताव गर्दै आएका छन् । एमालेबाट पनि उपमेयरमा तीनजना महिला दावेदार छन् । सावित्रा रेग्मी, विमला घिमिरे र शिल्पा कार्कीमध्येबाट एकलाई एमालेले उपमेयर बनाउने सम्भावना छ ।
माओवादी केन्द्रले मेयरमा नगर इन्चार्ज भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेद्वार बनाएको छ । न्यौपाने नगर संयोगक हुन् । उता साना राजनैतिक दलको खासै भूमिका नभएपनि मधेशबादी दलहरूको यसपटक सशक्त भूमिका हुन सक्छ । गत संविधान सभाको नगरभित्रको मतको हिसाब गर्ने हो भने कमल थापा नेतृत्वको राप्रपा नेपालपनि विराटनगरमा शक्तिशाली छ । मनोनित मेयर भएका प्रल्हाद साह सो पार्टीबाट असन्तुष्ट भई बाहिर रहेको अबस्थामा केदार कोइराला पनि राप्रपाका शक्तिशाली नेता हुन् ।
विराटनगर उपमहानगरपालिका कांग्रेसको प्रभाव भएपनि ०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले मेयर र उपमेयर दुबै पदमा जित निकालेको थियो । एमालेका तर्फबाट रमेशचन्द्र पौडेलले कांग्रेस तर्फका मेयरका उम्मेदवार अमृत अर्याललाई २५ सय बढी मत अन्तरले पराजित गरेका थिए भने उपमयेरमा पनि कांग्रेसका उपेन्द्रकान्त लाललाई एमालेका भुराज राईले पराजित गरेका थिए । एमाले कमजोर रहेको विराटनगरमा कांग्रेसको पल्ला भारी रहेको विश्लेषकहरू बताउँछन् ।
संयन्त्रबाट



