पहिले दाउरामा आगो बालेर भान्सामा प्रयोग गर्ने चलन थियो। तर अहिले सहरमा मात्र होइन गाउँ गाउँमा समेत ग्यासमा भान्सा पकाउने गरिन्छ। तर आगो बाल्ने क्रममा वा अन्य असावधानीका कारण ग्यास सिलिण्डरबाट आगो लाग्ने र ठूलो धनजनको क्षति हुने जोखिम रहन्छ।
यदि त्यसरी ग्यास सिलिण्डरमा आगलागी भइहाले के गर्ने भन्ने बारेमा आज राजधानीमा प्रदर्शन गरी देखाइएको थियो। कसरी सिलिण्डरमा सल्किएको आगो निभाउन सकिन्छ? केही उपाय हेरौं
१. औलाले रेगुलेटर बन्द गर्ने
सिलिन्डरको रेगुलेटरबाट पाइप छुटेर आगलागी भएमा नआत्तिकन औँलाले थिचेर आगो निभाउनुहोस्।
रेगुलेटरको चिसो ग्यास बाहिर निस्कँदा आयो र रेगुलेटरबीच १ इन्च ग्याप हुन्छ। त्यो ग्याप औँलाले छेक्नुहोस्। यसो गर्दा आगोले पोल्दैन।
२. कपडाले पिटेर निभाउने
सिलिन्डरबाट पाइप निस्केर आगो निस्केको हो भने यसलाई ठूलो पर्दा, तन्ना, कार्पेट वा ब्लांकेटले पिटेर निभाउनुहोस्।
चुल्होपट्टिबाट पाइप छुटेर आगो लागेको भए ३ औँलाले पाइप भाँचेर आगो नियन्त्रण गर्नुहोस्।
३. ग्यास पाइपको मुखमा औलाले बन्द गर्ने
सिलिन्डरबाट गएको पाइप चुलोेपट्टि छुटेर आगलागी भए पाइपलाई नियन्त्रणमा लिएर औँलाले थिची आगो निभाउनुहोस्।
४. बाल्टिनले छोपेर आगो निभाउने
रेगुलेटरबाट पाइप छुटेर आगलागी भए बाल्टिनले छोपेर आगो निभाउनुहोस्।
५. कपडाले छोपेर आगो निभाउने
सिलिन्डरमा आगो लागेमा पर्दा, कार्पेट, तन्ना वा कपडाले छोपेर आगो नियन्त्रण गर्नुहोस्।
याद गर्नुहोस्, ग्यास सिलिन्डरमा लागेको आगो पानीले निभ्दैन।
यदि तपाईँ यस विधिमा तालिमप्राप्त हुनुहुन्छ भने आगलागीको सुरुवाती अवस्थामा मात्र यसरी आगो निभाउनुहोस्।
अन्यथा सुरक्षित रूपले घर बाहिर निस्किनुहोस्।



