माधब बिद्रोही,
मानसिक सन्तुलन गुमाएकी एक महिलाले जन्माएको शिशुलाई संरक्षण गर्न भद्रपुर १० का राजवंशी परिवार इच्छुक भएपछि तिनले पुनर्जीवन पाएकी छन् ।
ठाउँ–ठेगाना र आफन्तको पहिचान नभएकी मानसिक सन्तुलन गुमाएकी सुत्केरी महिलालाई बाहुनडाँगीबाट सोमबार उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । महिला तथा बालबालिका कार्यालय झापाले ती महिलाले जन्माएको चार दिनको नवजात शिशुलाई कानूनी प्रक्रिया पूरा गरी राजवंशी परिवारलाई हस्तान्तरण गरेको हो ।
ती महिलाले जन्माएकी छोरीलाई बाल संरक्षण अधिकृत रेखनाथ दाहालको नेतृत्वमा संरक्षक खोजी गरी राजवंशी परिवारले इच्छा देखाएपछि उनीहरुलाई जिम्मा लगाएको थियो । भद्रपुर–१० निवासी रमेश राजवंशी र धनवती राजवंशीलाई संरक्षकको रुपमा जन्मेको चौथो दिन बच्चीको जिम्मा लगाइएको हो ।
महिला तथा बालबालिका कार्यालय झापाका बाल संरक्षण अधिकृत दाहालले कार्यालय प्रमुख महिला विकास अधिकृत इन्दिरा ओझा र पत्रकारसमेतको उपस्थितिमा राजवंशी परिवारलाई नवजात शिशु जिम्मा लगाइएका थिए । ती राजवंशी दम्पतीको सन्तान नभएकोले निक्कै उत्साहित भई बच्चीलाई ग्रहण गरेका छन् ।
कार्यालयले बालिकाको भविष्य सुनिश्चित गर्दै संरक्षकलाई कबुलियतनामा गराई जिम्मा लगाएको छ । राजवंशीलाई सरकारी प्रक्रिया पूरा गरी जिम्मा शिशु लगाइएको महिला विकास अधिकृत समीक्षा निरौलाले जानकारी दिइन् ।



