दाङ, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकास्तरीय कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै ज्ञवालीले जनताले निर्वाचन खोजेको र संविधान कार्यान्वयनका लागि त्यसको विकल्प नभएको बताउनुभयो ।
“प्राप्त उपलब्धिको रक्षाका लागि कुनै पनि हालतमा निर्वाचन हुनुपर्छ,” उहाँले भन्नुभयो । मधेसी नेताहरुले नचाहे पनि जनताले निर्वाचन चाहेको उपाध्यक्ष ज्ञवालीको भनाइ थियो । मधेसवादी दललाई सहमतिमा ल्याएर निर्वाचन गराउनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
“देशभर एमालेप्रति जनताको लहर आएको छ,” उहाँले भन्नुभयो । सो भेलामा एमाले नेता शङ्कर पोख्रेलले निर्वाचन तोकिएकै समयमा हुने भएकाले कार्यकर्तालाई निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिनुभयो । रासस



